मेचीनगरमा सुत्केरी पोषण वितरण शुरु

0
8

मेचीनगर ।

झापाको मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को सुत्केरी पोषण भत्ता वितरण कार्य मंगलबारबाट शुरु गरेको छ ।

मेचीनगर नगरपालिका, विपन्न परिवारका महिलाका लागि सुत्केरी पोषणभत्ता वितरण कार्यविधि २०७५ अनुसार नगरका १५ वटै वडामा सुत्केरी पोषणभत्ता वितरण गर्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगर नगरपालिका वडानम्बर— ९ बाट सुत्केरी पोषण भत्ता वितरण कार्य शुरु गरीएको हो । वडा कार्यालयको सभाहलमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर —९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य हृदय राजवंशीलगायतले लाभग्राहीलाई सामग्री वितरण गर्नुभएको स्वास्थ्य शाखा सहसंयोजक रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १ केजी नौनी घ्यू, १ केजी मह तथा गेडागुडीलगायतका सुत्केरीकालागि पौष्टिक आहार प्रदान गरीएको थियो ।

वडानम्बर ९ मा बर्षा श्रेष्ठ, सुनिता कार्की, झरना परियार, शान्तकुमारी धमला, अनिता कट्वाल, कञ्चन गुरागाईँ र मेनुका खड्का लाभग्राहीलाई ती सामाग्री वितरण गरिएको हो । विपन्न परिवारका सुत्केरीहरुबाट पोषणभत्ता प्राप्तिका लागि परेका निवेदनहरु माथि छलफल गरी पोषण भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम सिफारिस गर्न नगरप्रमुखको संयोजकमा समिति गठन गरिएको छ ।

उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले मनोनित गरेको कार्यपालिका सदस्यमध्येबाट २ जना महिला समितिको सदस्य रहने कार्यविधिमा उल्लेख छ । नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

लाभग्राहीबाट प्राप्त निवेदन उपर छलफल, पोषणभत्ताको रकम सिफारिस, महिला प्रसुती सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालनका नीति तथा कार्यक्रम तयार गरी कार्यपालिका बैठकमा पेश गर्ने जस्ता काम कर्तव्य र अधिकार समितिलाई छ ।

लाभग्राही छनौट गर्दा लाभग्राही मेचीनगर नगरपालिकाको स्थायीवासी हुनुपर्ने, विपन्न परिवारको हुनुपर्ने, निवेदकको दुईजना वा सो भन्दा कम सन्तान भएको हुनुपर्ने,नवजात शिशु स्वास्थ्य संस्थामा जन्मिएको र तोकिएको खोप लगाएको हुनुपर्ने, निवेदक वा सूचकले बालबालिकाको जन्मदर्ता सन्तान जन्मिएको ३५ दिनभित्र गर्नुपर्ने, सुत्केरी पोषण प्राप्त गर्न ९० दिनभत्रि नगरपालिकामा निवेदन पेश गरिसकेको हुनुपर्नेलगायतका प्रक्रिया रहेको छ ।

निवेदन, नेपाली नागरिकताको प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, बालक÷ बालिकाको जन्मदर्ताको प्रमाण पत्र तथा बसाईसरी आएको भए बसाई सराईको प्रमाण पत्र पोषण प्राप्तका लागि पेश गर्नुपर्ने छ । यसअघि नगरपालिकाले प्रत्येक सुत्केरीलाई नगद रकम वितरण गरेको भएपनि यसको दुरुपयोग भएको भन्दैं आलोचना हुन थालेपछि पछिल्लो समयबाट पोषणयुक्त खानेकुरा प्रदान गर्न थालिएको स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here