बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान

0
9

मनहरी (मकवानपुर),

मकवानपुरको बकैया गाउँपालिकाले बगरखेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाले ९५ बिघा जमिनमा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार पालिकाले गत शुक्रबार बगरखेती कार्यक्रमका लागि प्रस्तावना आह्वानको सूचना प्रकाशित गरेको हो । कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक किसान, समूह, कृषि सहकारी संस्था, फारममार्फत एक साताभित्र दरखास्त आह्वान गर्न सकिने पालिकाले जनाएको छ ।

अनुदानका लागि संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, कृषि व्यवसाय गर्ने अनुसूची अनुसारको प्रस्तावना, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्र प्रतिलिपि, प्रतिबद्धता पत्र, आयोजनासम्बन्धी अन्य कागजात माग गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँका अनुसार अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने छ ।

आयआर्जनमा विकास गर्ने लक्ष्यसहित बगर खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष लामिछानेले बताउनुभयो । “हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामग्री न्यूनीकरण गर्दै जान्छौँ । अब विस्तारै गाउँबाट सहरमा तरकारी पठाउने लक्ष्यका साथ काम गरेका छौँ”, उहाँले भन्नुभयो ।

हिउँदमा खेर गइरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सके बगरको जग्गा उपयोग पनि हुने र त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत किसानलाई आयआर्जन पनि हुने लामिछानेले बताउनुभयो । बकैया गाँउपालिकाका १२ वटा वडामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास क्षेत्रअन्तर्गत पर्ने उहाँले जानकारी दिनुभयो । बगर खेतीलाई प्रोत्साहन गर्न गाँउपालिकाले अनुदान दिने भएपछि किसान उत्साहित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here