वीपीको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता

0
12

आज पुस १६ गते अर्थात् राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । राष्ट्रिय मेलमिलापको अर्थ मुलुकमा रहेका राजनीतिक शक्तिहरु बीचमा मुलुकको बृहत्तर हितका लागि मिलेका विषयहरुमा एकताबद्ध रुपमा अगाडि जाने परिवेश निर्माण गर्नु हो भन्ने बुझिन्छ । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदैछन् । पार्टीका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । २०१५ साल फागुन ७ गते सम्पन्न नेपालको पहिलो आमनिर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले २०१६ साल जेठमा वीपीको नेतृत्वमा सरकार बनायो । सरकार बनेपछि ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरुसहित क्रान्तिकारी बाटोमा अघि बढेपछि तत्कालीन राजा महेन्द्रसँग उनको वैचारिक तथा सैद्धान्तिक मतभेद गहिरिँदै गयो । आफ्नो आरामदायक बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानून पारित गरेपछि तत्कालीन नेपाली सेनामाथि दह्रो पकड भएको सम्भ्रान्त जमिनदार वर्गले वीपी कोइरालालाई शत्रु देख्यो र उनी सत्तामा बसिरहनुलाई खतरा देख्यो । तत्कालीन राजा महेन्द्र परम्परावादी शक्तिको नेतृत्व गर्थे । दुई पक्षमा द्वन्द्व शुरु भयो– यो वास्तवमा बहुदलीय लोकतन्त्र र एक दलीय निरंकुशताबीचको टक्कर थियो ।

२०१७ साल पुस १ गते २००७ सालमा जनताको बलिदानबाट प्राप्त गरेको बहुदलीय प्रजातन्त्र राजा महेन्द्रको फौजी शासनको बुटमुनि थिल्थिलो भयो । संविधान निलम्बन गरियो, मन्त्री परिषद् र संसद भंग गरी राजाको प्रत्यक्ष शासन शुरु भयो । प्रजातन्त्रका लागि वीपी राजासँग झुकेनन्, बरु उनले प्रधानमन्त्रीको पद र आफ्नो जीवनलाई महŒव दिएनन् । उनलाई तरुणहरुको एउटा कार्यक्रममा भाग लिइरहेको अवस्थामा गिरफ्तार गरियो र कुनै मुद्दा नचलाई जेल हालियो । एक महान् प्रजातन्त्रवादी नेतालाई बिना कानूनी उपचार एकान्त जेलमा सारा दुनियाँका आँखाबाट पुरै अलग गरेर राखे राजा महेन्द्रले र रोपे पञ्चायतको नाममा एक दलीय अप्रजातान्त्रिक व्यवस्था । लोकतन्त्रको खरानी माथि अधिनायकवादको स्तम्भ खडा गरियो । वीपीका समर्थक शुभचिन्तकहरुलाई जेलमा कोचियो । कम्युनिष्टहरुले पनि राजाको समर्थन गरे । जस्तासुकै बिघ्नबाधा आए पनि कोइराला लोकतन्त्रको पक्षमा सतिसाल झैं ठिङ्ग उभिइरहे । जननायक, लोकनायक र नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्रीको रुपमा मानिने वीपी आठ वर्षसम्म जेलजीवन बिताएपछि उदार पञ्चको रुपमा त्यतिबेला चिनिने सूर्यबहादुर थापाको अनुरोधमा राजा महेन्द्रबाट उनलाई रिहा गरियो र उनी भारत प्रवासमा गए । त्यतिबेला निरंकुशताको उत्थानको बेला थियो । विपक्षीको अस्तित्व हुन्छ भन्ने कुरा पञ्चायतका कट्टर हिमायतीहरु सुन्न पनि चाहँदैनथे ।

महेन्द्रको स्वर्गारोहणपछि विश्वका इटन, हार्भर्ड पढेका राजा बनेका वीरेन्द्रबाट पनि सोचे जस्तो भएन, त्यसैले २०३१ सालमा भारतमा बसेर पञ्चायतबिरुद्ध वीपीले सशस्त्र विद्रोह शुरु गरेका थिए, जसलाई पञ्चायती शासकहरुले निर्ममतापूर्वक दबाएका थिए । इन्दिरा गान्धीले भारतमा बसेर नेपाल सरकारबिरुद्ध कामकारवाही गर्न नदिएपछि आफू र आफ्ना साथीहरु पुराणमा वर्णित दैत्य र गहिरो समुद्रको बीचमा परेको जस्तै महशुस गरी राक्षसको मुखमा परेर मर्नुभन्दा गहिरो सागररुपी आफ्नै मातृभूमिमा अधिनायकवादी शासकहरुको पञ्जामा परेर मर्नु निको सम्झेर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर वीपी स्वदेश फर्के । उनको साथमा गणेशमान सिंह, शैलजा आचार्य लगायत थिए । स्वदेश फर्कंदा उनले भनेका थिए– हाम्रो देश संकटमा छ । संकट चर्किँदै गएर राष्ट्रिय अस्तित्व खतरामा परेको छ, राष्ट्रियताको अभावबाट सबै समस्या सृजना भएका हुन् । विदेशीतत्वहरु कुचक्र चलाएर नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन चाहन्छन् ।

देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला भएको उनको विचार थियो । राष्ट्रियता र प्रजातन्त्र दुबैलाई सँगै लिएर मात्र नेपालको साँचो अर्थमा रक्षा गर्न सकिने उनको निष्कर्ष थियो, जो आज पनि उत्तिकै सान्दर्भिक छ । पुस १६ गते निर्वासन परित्याग गरी नेपाल आएको दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय पर्वका रूपमा ‘राष्ट्रिय मेलमिलाप’ दिवस मनाउने गरेको छ । तर, अहिले राष्ट्रिय मेलमिलापको मर्म र भावना अनुसार काम भइरहेको छैन । वीपीले यो नारा दिएर नेपाल फर्किँदा नेपाल अत्यन्त कठिन परिस्थितिमा थियो । नेपाली कांग्रेसका मान्छेहरू आज मारिने हुन् कि भोलि मारिने हुन् भन्ने अवस्थामा थिए । त्यतिबेलाको कानून अनुसार वीपीमाथि फाँसीको सजाय हुनेखालका आठवटा मुद्दा थिए । आठ वटै ज्यानमुद्दालाई ‘सामना’ गरेर उनी नेपाल आए । राष्ट्रिय मेलमिलाप नीतिका सम्बन्धमा वीपीले भनेका थिए– ‘म जनताको प्रतिनिधि हुँ, त्यसकारण जनतासँग राष्ट्रिय मेलमिलाप गर्न जाने शक्ति या व्यक्तिसँग दुईवटा गुण हुनुपर्छ, एउटा राष्ट्रवादी र अर्को प्रजातन्त्रवादी ।

जो प्रजातन्त्रवादी छैन, जो राष्ट्रवादी छैन, त्योसँग मेरो मेलमिलाप हुन सक्दैन, म भनेको जनता हुँ ।’ उनको राष्ट्रिय मेलमिलापको नीति अनुसार राजा पनि राष्ट्रवादी र प्रजातन्त्रवादी हुनुपथ्र्यो । उनले देशको माया गर्दै भनेका थिए– ‘यदि तिमीहरूलाई कुनै कुराको निर्णय गर्न द्विविधा हुन्छ भने नेपालको एकमुठी माटो लिएर सोध, त्यसले जे जवाफ दिन्छ, त्यही गर ।’ बाहिरी मुलुकमा बसेर नेपालको बारेमा निर्णय ग¥यो भने बाहिरी मुलुककै हितमा हुन्छ भन्ने कुरा उनले आठ वर्षको भारत निर्वासनका क्रममा महशुस गरेका थिए । प्रजातन्त्रवादी र राष्ट्रवादी दुबै हुनुपर्ने राष्ट्रिय मेलमिलापको नीति र मर्मलाई नेपाली कांग्रेसले छाडेको हुनाले एउटा आडम्बरका रूपमा बाहिर देखाउन र लाज ढाक्न नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको देखिएको छ । वीपीको विचारमा राजासँग मेलमिलाप हुन राजा प्रजातन्त्रवादी हुनुपर्छ । यदि राजा प्रजातन्त्रवादी भएनन् भने राजतन्त्र सकिन्छ भनेर वीपीले भनेका थिए । मुलुकमा अधिनायकवादको उदय हुने सम्भावना देखाउँदै उनले भनेका थिए– ‘त्यसबेला म पनि सकिन्छु, म सकिएँ भने विराटनगरमा खेतीपाती गर्न जान्छु, राजा जाने कहाँ ?’

अहिलेको स्थितिमा न राजा राष्ट्रवादी भए, न प्रजातन्त्रवादी भए । त्यसैले राजतन्त्र पनि सकियो । वीपी कति दूरदर्शी थिए भन्ने यसबाट पुष्टि हुन्छ । वीपीको आदर्शबाट च्यूत हुँदै विदेशीको चलखेलमा रमाउँदै जाने हो र आफ्ना गुटगत र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्दै जाने हो भने अब सकिने पालो नेपाली कांग्रेसको आएको छ । अहिले नेपाली कांग्रेसको नेतृत्व एकदम कमजोर मानसिकताको छ । भनिन्छ, वीपीको नीति छोडी गलत नीति लिएका कारण नेपालको राजनीतिमा पार्टीकोे हैसियत कमजोर भएको छ । सधैँ मुलुकको अग्रणी भूमिका खेल्ने नेपाली कांग्रेस अहिले प्रयोग हुँदै आएको छ । नेपाली कांग्रेस प्रयोग हुँदा आफूलाई मात्र होइन राष्ट्रलाई पनि नोक्सान भएको छ । पार्टीले अहिले राष्ट्रिय मेलमिलापको नीतिलाई पूर्णतया छाडेको छ । अहिलेको प्राथमिकता सत्ता भएको हुनाले जोसँग पनि सम्झौता गर्ने र जेमा पनि सम्झौता गर्ने पार्टीको रूपमा नेपाली जनताले कांग्रेसलाई बुझ्न थालेका छन् । तीतो र टर्रो सत्य के हो भने नेपालमा २०४७ सालपछिका देखा परेका धेरैजसो समस्याका पछि नेपाली कांग्रेसकै भूमिका छ ।

वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति वास्तवमा तत्कालीन अवस्थामा राजतन्त्र र नेपाली कांग्रेस मिलेर जाने कुरासँग सम्बन्धित थियो र कम्युनिष्ट तथा अन्य शक्तिलाई अलग्याएर राजा–कांग्रेस गठबन्धनबाट मुलुकलाई हाँक्ने अभिप्रायबाट आएको यथार्थ हो । जे होस् ठूलो चुनौतिको सामना गर्न तयार भएर नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री भएर, राजाको तानाशाही निरंकुशताको शिकार बनेर आठ वर्षभन्दा बढी कारावासमा बिताएका र जेलबाट मुक्ति पाएपछि एकदलीयताका हिमायती पञ्चहरुको कोपभाजनमा परी भारत निर्वासनमा रहेका वीपीले राष्ट्रिय मेलमिलापको नीति लिनु आफैंमा महŒवपूर्ण र ऐतिहासिक थियो र यसको महत्व अझ बढेर गएको छ । जीवनको अन्तिम समयमा मुलुकको महŒवपूर्ण राजनीतिक शक्ति नेपाली कम्युनिष्टहरुलाई बेवास्ता गरी दक्षिणपन्थी र राजावादी शक्तिसँग मात्र गठजोड गर्ने नीति लिएका कारण र नेकपाका नेता पुष्पलाल श्रेष्ठको संयुक्त भई पञ्चायती व्यवस्थाबिरुद्ध आन्दोलन गर्नुपर्ने प्रस्तावलाई नमाने पछि मुलुकमा प्रजातन्त्र पुनस्र्थापना हुन सकेन र पछि नेपाली कांग्रेसका वरिष्ठ नेता गणेशमान सिंहको दूरदर्शिताका कारण कांग्रेस र कम्युनिष्टबीच सहकार्य भई प्रजातन्त्रको पुनस्र्थापना सम्भव भएको यथार्थलाई नकार्न सकिन्न ।

नेपाली राजनीतिक र साहित्यिक आकाशका उज्ज्वल नक्षत्र वीपी कोइराला आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा र राष्ट्रवादी थिए । जीवनभर देश र जनताकै लागि संघर्ष गर्दै अटुट रुपमा सत्ताको विपरित धारमा उभिइरहने वीपी निर्भिक नेता थिए । उनले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनुप¥यो । आजीवन प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी थिए । उनी राणा शासक र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै झुकेनन्, राष्ट्रियता र प्रजातन्त्रप्रति निरन्तर आस्थावान रहे । उनले जीवनभर देश र जनताकै लागि संघर्ष गरिरहे । उनी निरंकुश शासकका सामु लत्रेनन्, बरु अटुट रुपमा सत्ताको विपरित धारमा उभिइरहे । नदीको प्रवाहको विपरीत धारमा टिक्न अत्यन्तै अप्ठेरो हुन्छ, तर उनी राज्यसत्ताको विरोधमा उभिरहे । वीपी साम्यवादी र पुँजीवादी दुबै प्रकारका राज्यव्यवस्थाका कडा आलोचक थिए । आज वीपीका अनुयायीहरु उनको आदर्शलाई पछ्याइरहेका छन् ? अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित सामन्तवाद र पुँजीवाद नेपालीका लागि सुहाउँदैन र एकदलीय तानाशाही साम्यवादको नेपाली कांग्रेसले कुनै पनि शर्तमा पक्षपोषण गर्न सक्दैन र गर्न हुँदैन भन्ने उनको स्पष्ट धारणा थियो । उनको विचारमा नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादबाट निर्देशित हुने राजनीतिक शक्ति हो ।

यतिबेला लोकतन्त्र, राष्टिूयता र समाजवादप्रति प्रतिबद्ध हुन राष्ट्रिय मेलमिलाप दिवसले प्रेरणा दिनेछ सबै नेपालीलाई भनी विश्वास गर्न सकिन्छ । राष्ट्रप्रति समर्पित रहेर लोकतान्त्रिक व्यवस्थाका पक्षमा चट्टानी दृढतासहित उभिने वीपीका असल र अनुशरणीय गुणबाट सिक्न सके आजको हाम्रो समाज, मुलुक र हरेक नागरिकको जीवनमा निश्चय नै सकारात्मक परिवर्तन आउने थियो भनी विश्वास गर्न सकिन्छ । उनको गरिमा र उनका विचारको महत्ता घटेको छैन । उनी मरेर गए पनि आज पनि हजारौं मात्र होइन, लाखौं–करोडौं नेपाली जनताको मनमस्तिष्कमा बाँचिरहेका छन् र पथप्रदर्शन गरिरहेछन् । भौतिक रुपमा आज उनी नभए पनि उनले छोडेर गएका लोकतन्त्रप्रतिको निष्ठा र स्वतन्त्रताप्रतिको उनको अविचलित आस्थाले सबै लोकतन्त्र पक्षधरलाई प्रेरणा दिइरहेछन् । वीपी कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एकजना विशिष्ट धरोहर हुन् ।

नेपालमा प्रजातान्त्रिक चेतनाको बिजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महŒवपूर्ण भूमिका खेलेका छन् । साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू प्रदान गर्ने वीपी कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आजपर्यन्त अनुभूत गर्न सकिन्छ । तीन जना राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका र राणा शासक र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै नझुकेका, आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान रहेका वीपी कोइरालाले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर स्थापित गरेको बाटो वास्तवमा प्रजातान्त्रिक समाजवादको बाटो हो ।

वैदेशिक शक्ति केन्द्रको मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरी आफ्नो स्वार्थ सिद्ध गर्ने र मुलुकलाई आफ्नो प्रभाव क्षेत्रमा पारिरहने दीर्घकालीन सोच अनुरुप चलखेल गर्ने सदियौंदेखिको प्रचलन रहेकै छ । अहिले नेपालले खोजेको अतिवाद होइन, राष्ट्रिय आत्मसमर्पणवाद पनि होइन, विखण्डनवाद पनि होइन, अलिकति सन्तुलित र मध्यमार्गी नेतृत्व देशले खोजिरहेको छ । पहाडे अहंकारवादसहितको राष्ट्रवाद र भारतको दलाली गर्ने पराश्रित मानसिकता दुबैबाट मुलुकको समृद्धि र स्थायित्व सम्भव छैन । वीपी स्वार्थ र त्रासले अधिनायकवादी शासकहरुको पक्षमा कहिल्यै उभिएनन् । उनले लोकतन्त्रका लागि धेरै पटक आफ्नो जीवनको जोखिम उठाएका थिए । २०१५ सालमा सम्पन्न नेपालको पहिलो आम निर्वाचनबाट प्रधानमन्त्री बने । वीपी राजासँग झुकेनन्, बरु उनले एक महान प्रजातन्त्रवादी नेताको रुपमा एकान्त जेल रोजे र लोकतन्त्रको खरानी माथि उभिएको अधिनायकवादको विपक्षमा उनी सदैव खडा भए । आजका नेकाका नेताहरुमा वीपीको जीवनबाट लिने कुनै आदर्शमय जीवनपद्धतिको मार्गदर्शनबारे हृदयतः विश्वास छ ? हो, वीपी कोइरालामा साम्यवादीहरुप्रति विश्वास थिएन र उनी कार्ल माक्र्सले प्रतिपादन गरेको वैज्ञानिक समाजवादका पक्षपाती थिएनन् । तर, उनी लोकतन्त्रवादी र राष्ट्रवादी निश्चय नै थिए ।

राष्ट्रिय मेलमिलाप नीति लिई नेपाल फर्केपछि पञ्चायती शासकहरुले दर्जनौं मुद्दाहरु लगाएर मानसिकता गिराउँदा पनि र राजद्रोहको आरोपमा मृत्युदण्ड दिने तयारी गरिँदा पनि वीपी कहिल्यै लत्रेनन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन नेपाली कांग्रेसले वीपीले दिशानिर्देश गरेका समाजवादी, जनपक्षीय र जनहितकारी नीति र कार्यक्रमलाई समयसापेक्ष परिभाषित र पुनर्मूल्यांकन गर्न सक्नुपर्छ । कम्युनिस्ट माथि अधिनायकवादी आरोप थोपरेर प्रजातन्त्रको लागि आफू सँगसँगै संघर्ष गर्ने, पटक–पटकका जनान्दोलनमा सरिक हुने, पञ्यातबिरुद्धमा १७ वर्षभन्दा बढी समय जेल बस्ने, तानाशाही व्यवस्थाबाट सबैभन्दा बढी मारिने सहयात्री कम्युनिष्टहरुलाई अधिनायकवादी, तानाशाही, श्रीपेचधारी भनेर जनतामा असन्तोष सृजना गर्न नेपाली कांग्रेसले मिल्दैन । अब नेकाले यो प्रचारलाई त्यागेर अझ समुन्नत लोकतन्त्र कसरी बनाउने, आधुनिक युगसापेक्ष नीति तथा कार्यक्रमका बारेमा चिन्तन÷मनन गर्न र मुलुकका सबै शक्तिसँग सहकार्य गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here