सन्थाल परिवारलाई घर निर्माण गर्ने

0
7

भद्रपुर ।

भद्रपुर नगरपालिकाले यो वर्ष सन्थाल समुदायका परिवारलाई २६ वटा घर निर्माण गरिदिने भएको छ ।

नगर प्रमुख सन्थाल आवास निर्माण अन्तर्गत नगरका १० वटा वडा मध्ये पाँच वडाका २६ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिन लागेको हो । नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले सन्थाल आवासको एक कार्यक्रमका बीच शिलान्यास गरेसँगै निर्माण कार्य शुरु भएको छ ।

नगरपालिकाले वडा नम्बर ३ निवासी लाल हस्दा र वडा नम्बर ९ निवासी चुड्कु किस्कुको आवास शिलान्यास गरेका थिए । आफ्नै जमिन हुनुपर्ने, आर्थिक अवस्था कमजोर, छोराछोरी सामुदायिक विद्यालय पढाउनुपर्ने लगायतको नीति बनाएर नगरपालिकाले वडा नम्बर ३, ५, ९ र १० मा पाँच वटाको दरले २० वटा घर र वडा नम्बर ७ मा छ वटा गरी जम्मा २६ वटा घर निर्माण गरिने नगरका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए ।

भ्याटसहित एक करोड २७ लाख २२ हजार नौ सय १३ रुपैयाँमा लागतमा निर्माण हुने घरको ठेक्का स्नेहा निर्माण सेवा भद्रपुरले लिएको छ । ३८४ दशमलव १३ वर्ग फिटमा टिनको छाना भएको घरमा भान्सा, बरन्डासहित तीन वटा कोठा निर्माण गरिने छ । एउटा घर निर्माण गर्न चार लाख ८९ हजार तीन सय ४२ रुपैयाँ खर्च हुने इञ्जिनियर रञ्जितकारले बताए ।

२०८१ बैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी चालू वर्षको मंसीर २७ गते निर्माण कम्पनीसँग सम्झौता भएको उनको भनाइ छ । लोप हुँदै गएको सन्थाल जातिलाई विस्थापित हुन नदिन यो योजना शुरु गरिएको नगर प्रमुख गणेश पोखरेलले बताए । अन्य समुदाय कमजोर रहेपनि समग्रमा सन्थाल समुदायभन्दा बढी कमजोर देखिएकोले यो समुदायबाट नै आवास निर्माण शुरु गरिएको नगर प्रमुख पोखरेलले बताए । नगरभित्र नागरिकता पाएका सन्थाल समुदायको छ सय तीन घर रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच नपुगेको हुँदा नगरले सन्थाल समुदायलाई निःशुल्क स्वास्थ्य बीमा पनि गरिदिएको उनले बताए ।

गत वर्ष नगरले वडा नम्बर ३ मा मात्र १८ वटा सन्थाल आवास निर्माणको काम अघि बढाएको थियो । तर, त्यो योजना अझै पूरा भएको छ । त्यसैले यस वर्ष निर्माण गर्न लागिएको आवास तोकिएकै समय अवधिभित्र सम्पन्न गरी हस्तान्तरण गरिदिन नगर प्रमुख पोखरेलले निर्माण व्यवसायीलाई आग्रह समेत गरेका छन् ।

नगरपालिकाले आवास निर्माण गरिदिने भएपछि ७८ वर्षीय चुड्कु किस्कु र लाल हस्दा खुशी भएका छन् । जीवनभर घामपानी नछेक्ने घरमा जीविकोपार्जन गरिरहेको अवस्थामा नयाँ घर पाउन लागेको प्रति उनीहरूले नगरपालिकालाई धन्यवाद समेत दिएका छन् । शिलान्यास कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष हेमबहादुर कार्की, ९ नम्बर वडा अध्यक्ष रामप्रसाद दाहाल, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here