मापसेले दुर्घटना बढ्यो

0
8

विराटनगर ।

मादक पदार्थ सेवनका कारण दुर्घटना बढ्न थालेपछि मोरङमा सवारी चेकजाँचमा कडाइ गर्न थालिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाइएको हो । मापसेका कारण हुने दुर्घटना रोक्ने उद्देश्यले आइतबारदेखि ट्राफिक प्रहरीले दिउँसै मापसे चेकजाँच गर्न थालेको छ । दुर्घटना न्यूनिकरण गर्न दिउँसो पनि चेकजाँच थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन न्यौपानेले बताए ।

दिउँसोको समयमा पनि मापसे चेकजाँच गर्न थालेको हो,’ उनले भने, ‘चेकजाँच र निगरानीले नै दुर्घटनाको दर पनि कम हुन्छ । दिउँसै मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको जनगुनासो धेरै आउन थाले छ ।’ मापसे गरेर सवारी चलाउने क्रम रोक्न चालकलाई कारबाहीको दायरामा ल्याइने छ ।

न्यौपानेका अनुसार विराटनगरसहित मोरङ जिल्ला भरी ‘मापसे चेकजाँच विशेष अभियान’ चलाइएको छ । यसअघि ट्राफिक प्रहरीको मापसे लक्षित कारबाही रातको समयमा मात्रै हुने गरेको थियो । अबदेखि दिउँसोको समयमा समेत चेकजाँच गर्न थालिएको न्यौपानेले बताए । दिउँसै मापसे गरेर चलाइएका सवारीसाधनले दुर्घटना गराउने क्रम बढ्दै गएको छ ।

दिउँसोको समयमा कतिपय दुर्घटना मापसेकै कारण भएको पाइएको इन्सपेक्टर न्यौपानको भनाइ छ । सवारी चालकको मापसे चेकजाँचका लागि इन्सपेक्टर न्यौपाने आफैं फिल्डमा निस्किन सुरु गरेका छन् । अर्कोतर्फ मापसे चेकजाँचलाई लक्षित गरेर ट्राफिक प्रहरीका नायव निरीक्षक (सइ) सुन्दरश्याम पोखरेलको नेतृत्वमा अलग्गै टोली परिचालित छ । न्यौपानेका अनुसार सवारीसाधनमाथि निगरानी बढाउने, सवारीको अवस्था र कगजात चेकजाँच गर्ने, शंकास्पद सवारीसाधन नियन्त्रणमा लिने तथा मापसे गरेका चालकलाई कारबाही गर्ने गरी ट्राफिक सक्रियता बढाइएको हो ।

ट्राफिक प्रहरीले आइतबार दिउँसो विराटनगरको तीनपैनी, ट्राफिक चोकलगायतका केही स्थानमा मापसे चेकजाँच गरेको थियो । चेकजाँचलाई एम्बुलेन्स, सीटी सफारी, अटो टेम्पो, विद्यालयका सवारी, ट्याक्टर तथा फोहोर बोक्ने गाडीलगायतका सवारीसाधन लक्षित गरिएको थियो । चेकजाँचका क्रममा दिउँसै मापसे गरेर सवारी चलाउने गरिएको फेला परेको छ ।

चालकले मापसे गरेर चलाएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको इन्सपेक्टर न्यौपाने बताउँछन् । न्यौपानेका अनुसार नम्बर प्लेट मेटिएर स्पष्ट नभएका सवारीसाधनलाई चेकजाँचस्थलमै नम्बर प्लेटसमेत लेखाउन थालिएको छ । केही समयअघिदेखि ट्राफिकले नम्बर प्लेट लेखाउन थालेको हो । हालसम्म नम्बर नबुझिने र स्पष्ट नभएका पाँच सय वटाजति सवारीसाधनको नम्बर प्लेट लेखाइ सकिएको उनले बताए ।

चालु आर्थिक वर्षको हालसम्म मोरङमा ५ सय ६१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ५२ जनाको मृत्यु र ८ सय ७६ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिकका अनुसार लगभग २० प्रतिशतजति दुर्घटना मापसेका कारण भएको हो । चालु आबको साउनयता मापसे गरेर चलाइएका ६ सय पाँच वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here