भारतिय बिमानको माध्यमले नेपालीहरुको उद्दार गरिने

0
4

काठमाण्डौं ।

युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखी त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहजीकरण भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हालसम्म युक्रेनमा रहेका अधिकाँश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेको मन्त्रालयले दावी गरेको छ । हालसम्म ५११ जना नेपालीहरु युक्रेनबाट सीमावर्ती मुलुकहरूमा पुगेको बताइएको छ । पोल्यान्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेको तथ्याङक सार्वजनिक गरिएको छ ।

उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘नेपाली राजदूतावास, बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ।’ विज्ञप्तीमा उल्लेख छ ।
युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तूलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनको सीमामा रहेका मोल्दोभा, रोमानिया, हंगेरी, स्लोभाकिया र पोल्यान्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकहरूको सुरक्षित आगमनमा सहयोग गरिदिन नेपाल सरकारले अनुरोध समेत गरेको उल्लेख छ ।

उद्दार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सम्मिलित एक कार्य समिति गठन गरिएको छ । नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको छ। बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का पोल्यान्ड–युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षित प्रस्थानमा सहयोग पुर्याउन पोल्यान्ड पुगेको दुतावासले बताएको छ ।

युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडानहरू मार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतबाट सकारात्मक जवाफ प्राप्त भएको जर्मनीमा रहेको नेपाली राजदुतावासकी तृतिय सचिव सहारा चौलागाईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बर्लिनस्थित नेपाली राजदूताबासबाट ती मुलुकहरूमा रहेका भारतीय दूतावासहरूसँग समन्वय भइसकेको चौलागाईले बताइएकी छन् । रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको उल्लेख गरिएको छ । त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको दुतावासले जनाएको छ ।
युक्रेनबाट आई युरोपका विभिन्न देशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरण गर्ने भएको छ । त्यसका लागि नेपाली राजदूतावास, बर्लिनको तृतीय सचिव सहारा चौँलागाइँलाई समपर्क गर्न भनिएको छ । यो समाचार राजधानी दैनिक बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here