शून्य सहनशीलताले दुर्घटना रोक्छ

0
6

मादक पदार्थ सेवनका कारण दुर्घटना बढ्न थालेपछि मोरङ प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गर्न थालेको छ । सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चेकजाँचमा कडाइ गर्न थालेको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले चालू आर्थिक वर्षको अहिलेसम्ममा मोरङमा पाँच सय ६१ वटा सवारी दुर्घटना भएको बताए । जसका कराण ५२ जनाको मृत्यु भएको छ भने आठ सय ७६ जना घाइते भएका छन् । दुर्घटनामध्ये मादकपदार्थ सेवन गरेर सवारी चलाएका बीस प्रतिशत रहेको प्रहरीको भनाइ छ । ट्राफिक प्रहरी मोरङले चालू आर्थिक वर्षको साउनयता मात्र मापसे गरेर सवारी चलाएका छ सय पाँच वटा सवारीसाधन कारवाहीमा परेको जनाएको छ ।

मोरङ जिल्लाभर ‘मापसे चेकजाँच विशेष अभियान’ चलाइएको छ । विगतमा राति मात्र हुने गरेको चेकजाँच यतिबेला दिउँसो गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । निरन्तरको चेकजाँचले सवारी दुर्घटनाको दर कम हुने विश्लेषणका आधारमा चेकजाँचमा कडाइ गरिएका कारण दिउँसै मापसे गरेर सवारी चलाउने प्रवृत्ति न्यून हुने उसको अपेक्षा छ । जनगुनासाका आधारमा दिउँसै चेकजाँच गर्न अभियान नै चलाएको ट्राफिक प्रहरीको सक्रियताले वनभोजको यो मौसममा भइरहने दुर्घटना कम गर्न सहयोग गर्नेछ ।

मोरङ ट्राफिक प्रहरीको यो अभियान कोशी प्रदेशका चौध वटै जिल्लामा सञ्चालन गरिएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले बताएका छन् । मापसेबिरुद्ध शून्य सहनशीलता नलिई मापसे गरेर सवारी चलाउने प्रवृत्ति निरुत्साहित हुनै सक्दैन । सडक कानून विपरीतका गतिविधिले निर्दोष व्यक्तिको पनि ज्यान जान सक्ने भएकाले आमनागरिकको जीवन रक्षाका लागि ट्राफिक सक्रियता आवश्यक छ । त्यसो त दुर्घटनाका अन्य कारणहरु पनि छन् । तर, ती तत्काल समाधान हुन सक्दैनन् । सडकको अवस्था, तीब्र गति, सडक नियमको उल्लंघन जस्ता कारण पनि दुर्घटनाका लागि जिम्मेवार छन् । तर, सबैभन्दा बढी जोखिम मापसेबाट रहेको तथ्यांकका आधारमा ट्राफिक प्रहरीको सक्रियता आशलाग्दो छ । खासगरी दुईपाङ्ग्रे सवारी दुर्घटनामा बढी पर्ने गरेको तथ्यका आधारमा पनि ट्राफिक प्रहरीले चेकजाँचलाई निरन्तरता दिनुपर्छ र शून्य सहनशीलता अपनाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here