४१औं वार्षिक अनुष्ठानको आम्दानी खर्च विवरण सार्वजनिक

0
7

अर्जुनधारा ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा गत मंसीर १७ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको ४१औं वार्षिक अनुष्ठानको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।

धाम व्यवस्थापन समितिले सार्वजनिक गरेको विवरण अनुसार उक्त अनुष्ठानको जम्मा आम्दानी ४६ लाख दुई हजार पाँच सय ९२ रुपैयाँ, जम्मा खर्च २९ लाख ८९ हजार आठ सय ४२ रुपैयाँ र जम्मा बचत १६ लाख १२ हजार सात सय ५० रुपैयाँ रहेको छ ।

आम्दानीमध्ये सहयोग रसिदबाट(अक्षयकोष, भूमिदान, खाद्य सहयोग) ३१ लाख ६१ हजार तीन सय ६८ रुपैयाँ, मन्दिर भेटीबाट छ लाख ४४ हजार चार सय चार रुपैयाँ, विविध आम्दानीबाट तीन लाख ९६ हजार १५ रुपैयाँ, रमाइलो मेलाबाट एक लाख ८५ हजार रुपैयाँ, बजार स्टलबाट एक लाख २५ हजार रुपैयाँ, गंगा आरतीबाट ९० हजार आठ सय पाँच रुपैयाँ प्राप्त भएको आम्दानी खर्च विवरणमा उल्लेख गरिएको छ ।

सोही अनुष्ठानको अवसरमा सञ्चालन गरिएको रमाइलो मेलाको सम्झौता रकम चार लाख आठ रुपैयाँमध्ये एक लाख ८५ हजार रुपैयाँ मात्र प्राप्त भएको समितिका कोषाध्यक्ष एवम् अनुष्ठान आर्थिक उपसमितिका संयोजक मनोज जोशीले जानकारी दिए ।

“सम्झौता अनुसारको बाँकी दुई लाख २३ हजार रुपैयाँ समितिलाई प्राप्त भएपछि हाम्रो आम्दानीमा थप वृद्धि हुनेछ र त्यसको लागि ठेकेदारलाई ताकेता गरेका छौं”–उनले थप आफ्नो भनाइ राखे ।

अनुष्ठान सञ्चालन पूर्व आयोजित पत्रकार सम्मेलनमा समितिले उक्त अनुष्ठानको लागि अनुमानित आम्दानी ६६ लाख १० हजार रुपैयाँ र खर्च ४० लाख रुपैयाँ बराबरको विवरण सार्वजनिक गरेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here