१७०० मिटर फाइवर तार चोरी

0
8

युद्धबहादुर बोहोरा,
घुर्बिसेपञ्चमी ।

इलाम पाँचथरको सीमानामा पर्ने राँकेदेखि घुर्बिसेपञ्चमी खण्डमा बिच्छ्याइएको टेकमाइण्ड्स नेटवर्कको फाइवर तार चोरी भएको छ ।

टेकमाइण्ड्स प्रालि इलाम सपोर्ट स्टेशन मार्फत विच्छ्याइएको ट्रंक लाइन तथा ग्राहकलाई वितरण गरिएको इन्टरनेट सेवाको लागि बिस्तार गरिएको एक हजार सात सय मिटर (१२ कोर) फाइवर तार पुस ८ र २० गते चोरी भएको कम्पनीले जनाएको छ ।

राँके–रवि सडकको देउराली बजारदेखि घुर्बिसेपञ्चमीबीच यसै क्षेत्रमा पटक–पटक ज्वाइन्ट बक्स नै काटेर लैजाने, तार चोरी गर्ने र इन्टरनेट सेवा पनि अवरुद्ध गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय इलाममा कम्पनीले उजुरी हालेको थियो । अनुचित कार्यमा संलग्न व्यक्ति वा संस्थालाई खोजी गरी क्षर्तिपूर्ति तथा कार्वाही गरिदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय इलाम र नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौलाई बोधार्थ समेत दिएको टेकमाइण्ड्स नेटवर्क प्रालिका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र थापाले जानकारी दिए ।

२०७७ सालबाट यस क्षेत्रमा उक्त कम्पनीले विस्तार गरेको इन्टरनेट सेवा इलामको फाकफोकथुम गाउँपालिका कार्यालय, विभिन्न वडा तथा स्थानीयबासीहरुले प्रयोग गर्दै आएको जनाइएको छ । बारम्बार अज्ञात व्यक्ति तथा समूहले अवरोध पु¥याएपछि प्रयोगकर्ताले सास्ती खेप्नु परेको फाकफोकथुम–३ नम्बर वडाका कर्मचारी रोमी मगर बताउँछन् ।

हरेक समय दुःख दिने कार्यबाट प्रयोगकर्तालाई पर्न गएको समस्या समाधान गर्न कम्पनीले स्थानीयवासी, सरोकारवाला, फाक्तेप प्रहरी चौकी र चिलिङदिन प्रहरी चौकी राँकेलाई समेत निगरानीका लागि हारगुहार माग्दै यस किसिमको अराजक गतिविधि कसैले पनि नगरिदिन अपिल गरिएको इलाम सपोर्ट स्टेशनका प्राविधिक इञ्चार्ज हेम थापाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here