फुङ्लिङमा भूमिहीनलाई निस्सा वितरण

0
9

फुङ्लिङ,

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिएको छ । जग्गाधनीपुर्जाविहीन भूमिहीनलाई राष्ट्रिय भूमि आयोग जिल्ला समितिले निस्सा वितरण गरेको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरपालिकाभित्र रहेका भूमिहीन परिवारलाई जग्गाको निस्सा वितरण गरेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले राससलाई बताउनुभयो । फुङ्लिङ नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो ।

फुङ्लिङ नगरपालिकाका ११ वटै वडाका एक सय ७३ जनाले राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष जग्गाधनी पुर्जा प्राप्त गर्न निवेदन दिएका थिए । समितिसमक्ष निवेदन दिएकामध्ये प्रमाणीकरण भएका एक सय १७ जना भूमिहीनलाई निस्सा वितरण गरिएको आयोगले जनाएको छ ।

जग्गा प्राप्तिका लागि निवेदन दिने ५६ जना भने प्रमाणीकरणमा नपरेका समितिले जनाएको छ । एकजना दलित, चारजना सुकुम्बासी र अन्य अव्यवस्थित परिवार माग दाबीअनुसार प्रमाणीकरणमा पर्न अयोग्य ठहरिएका समितिले जानकारी दिएको छ ।

निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजारबाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here