दलहरुको ध्यान उपनिर्वाचन तर्फ, इलाम–२ मा सबैको चासो

0
8

झापा।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी छिनोफानो गरेसँगै राजनीतिक दलका नेताहरू उप निर्वाचनबारे छलफलमा केन्द्रित हुन थालेका छन् ।

निर्वाचन आयोगले रिक्त रहेका स्थानहरूमा आगामी वैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरिसकेकाले दलहरू उप निर्वाचन केन्द्रित छलफलमा जुटेका हुन् । उप निर्वाचनका लागि आकाङ्क्षीहरूले दौडधुप बढाएसँगै दलका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार इलाम २ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभासहित देशभरका १७ वटा वडाध्यक्षको निधनका कारण पद रिक्त छन् । त्यसमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ समेत रिक्त छ । काठमाडौँ १६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि डेंगुका कारण निधन भएको हो ।

इलाम २ बाट निर्वाचित एमाले नेता सुवास नेम्वाङ र बझाङ प्रतिनिधि सभा १ प्रदेश सभा १ बाट निर्वाचित सांसद एवम् सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उक्त निर्वाचन क्षेत्र रिक्त भएको हो ।

नेपालको संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । यस्तै, संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यही कानुनी व्यवस्था छ ।

इलाम २ प्रति विशेष चासो

दलहरु प्छिल्लो समय चुनावी अभियानमा सक्रिय हुन थालेका छन् । संविधानसभा अध्यक्ष एवम् एमाले नेता सुवास नेम्वाङको निधनपछि दलहरु इलाम–२ मा कसलाई उम्मेद्वार बनाउने भन्नेमा ध्याउन्नामा लगे । रिक्त रहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनतर्फ शीर्ष दलहरूले विशेष चासो दिइरहेका छन् ।

उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको गत भदौ २५ गते राति हृदयाघातका कारण निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त छ ।

उपनिर्वाचन मिति तय नभए पनि निर्वाचन केन्द्रित दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै नेपाली कांग्रेस र स्वतन्त्र पार्टीका नेताहरूले दौडधुप बढाएका छन् । एमाले कोशी प्रदेश कमिटीले जिल्लालाई तयारी थाल्न निर्देशन दिइसकेको छ ।

आकाङ्क्क्षीहरू निर्वाचन क्षेत्र र काठमाडौँ ओहोरदोहोर गरिरहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभाको माघमा र उपनिर्वाचन वैशाख पहिलो साता गर्ने यसअघि प्रस्ताव गरेको थियो । माघ ११ गते राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुँदै छ ।

२०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको उक्त क्षेत्रमा उनको निधनपछि सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले चुनाव केन्द्रित दौडधुप बढाएका हुन् । कांग्रेसबाट आकाङ्क्षी देखिएका भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमालले दौडधुप बढाएका छन् ।

एमालेबाट बुद्धि खनाल, उदय राई, गणेश बराल, रवीन्द्र सुवेदीलगायतका नेताहरू आकाङ्क्षी देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र थापा र पत्रकार धर्म गौतमले इच्छा देखाएको बुझिएको छ । नेम्बाङका कान्छा छोरा सुहाङ, समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रास्वपाबाटै अनिल केसरी शाहको नाम पनि अगाडि आइरहेको छ ।

लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आकलन गर्न गाह्रो छ । २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले कांग्रेसका उम्मेदवार डम्बर खड्का पराजित भएका थिए । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खड्का यस पटक पनि उम्मेदवारीको दौडमा छन् । तर गठबन्धनका नेताहरूबिचको छलफल र कांग्रेसको आन्तरिक भागबन्डाका आधारमा उम्मेदवार टुंगो लाग्ने नेताहरू बताउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here