कछुवा गतिमा सिद्धबाबा सुरुङ मार्ग ४ महिनामा खनियो १ मिटर

0
8

काठमाण्डौं ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको सिद्धबाबा सुरुङ मार्ग निर्माण कछुवा गतिमा अघि बढेको छ । काम सुरु भएको ४ महिनामा जम्मा १ मिटर खनिएको छ ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार गत भदौ अन्तिममा सुरुङ मार्ग खन्ने काम सुरु भएकोमा अहिलेसम्म १ मिटर सकिएको हो । ‘मुख्य सुरुङ खन्ने काम एक मिटरसम्म पुगेको छ,’ उनले भनिन् ।

सुरुङ मार्ग बनाउन २०७८ जेठमा ग्लोबल टेन्डर आह्वान गरिएकोमा ठेक्का सम्झौता गर्न ९ महिना लागेको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग २०७८ फागुनमा ठेक्का सम्झौता गरिएको हो ।

‘अहिले मुख्य सुरुङको अगाडिको भागको डिजाइन पास भएर काम भइरहेको छ । इभ्याकुएसन इमर्जेन्सी टनेलको पनि काम सुरु गरिएको छ । यसमा हरेक तहमा डिजाइन आवश्यक पर्छ । जस्तै अहिले टनेलको इन्ट्रीको डिजाइन बनाइएको छ भने सुरुङ खन्दै गएपछि भित्रि भागमा के के गर्ने भन्ने कुराहरुको पनि डिजाइन बन्दै जान्छ,’ उनले भनिन् ।

उनका अनुसार बाइपास र वर्षाको बेला पहिरो गएको स्थानमा स्लोप स्टेबलाइजेसन गर्ने काम पनि भइरहेको छ । ‘हामीले एकै पटक सबै डिजाइन स्वीकृत गरेर काम गर्न खोज्दा ढिला हुने देखिएपछि अहिले बाहिरी स्थानको डिजाइन स्वीकृत गरेर काम गरिरहेका छौं,’ उनले भनिन् । सम्झौताअनुसार सुरुङ निर्माणको काम २०८३ भित्र सक्नुपर्छ ।

सुरुङ मार्ग ११ सय २६ मिटर लम्बाइको हो । ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म १२ प्रतिशत अर्थात ८८ करोड रुपैयाँ खर्च भएको छ । सुरूङ मार्ग निर्माणपछि अहिलेको सडकको दूरी ४ किलोमिटर घट्नेछ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डले पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका थुप्रै पहाडी जिल्लालाई तराइसँग जोड्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here