रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

गोपीकृष्ण खनाल स्मृति पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिएको छ।
पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा स्थापित गोपीकृष्ण खनाल स्मृति पुरस्कार अग्रज साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिएको हो।
साहित्य चौतारीको सभाहलमा आइतबार गोपीकृष्ण खनालको ७७ अौं जन्मोत्सवको अवसरमा प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि शिक्षा सेवी गणेशप्रसाद खनाल , प्रतिष्ठानका संरक्षक रुपादेवी खनाल, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठलगायतले पोखरेललाई समानसहित उक्त पुरस्कार प्रदान गरेका थिए।
प्रत्येक दुई-दुई वर्षमा प्रदान गरिने सो पुरस्कार ५० हजार राशिको रहेको छ। यसभन्दा अघि सो पुरस्कार पत्रकार नकूल काजीलाई प्रदान गरिएको थियो। यसवर्ष साहित्यतर्फ प्रदान गरिएको छनौट समितिका सदस्य पुण्यप्रसाद सिग्देलले जानकारी दिए। उनले सुरुमा उक्त पुरस्कारको नामाकरण गोपीकृष्ण खनाल पत्रकारिता राखिएको भएपानि दुबैतर्फ प्रदान गर्नेगरी हाल संशोधन गरि गोपीकृष्ण खनाल स्मृति पुरस्कार राखिएको बताए।
प्रतिष्ठानका उपाध्यक्ष सरु खनालको अध्यक्षता तथा शिक्षासेवी गणेशप्रसाद खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव तीर्थ सिग्देलले स्वागत गरेका थिए।
साहित्यकार तथा पत्रकार गोपीकृष्ण खनालको जीवनीमा आधारित वृतचित्र प्रदर्शन गरिएको कार्यक्रममा पुरस्कृत व्यक्तित्वको परिचयसहित सम्मानपत्र वाचन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए।
प्रतिष्ठानका संरक्षक रुपादेवी खनाल,साहित्य,संगीत,कला क्षेत्रका विभिन्न व्यक्तिको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि खनाल, साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलारी,सम्मानित व्यक्तित्व पोखरेललगायतले शुभकामना मन्तव्य राखेको सहसचिव भानु खनालले जानकारी दिए।
कार्यक्रममा अमेरिका निवासी प्रतिष्ठानका अध्यक्ष मनोज खनालले भिडियो मन्तव्य सन्देश राख्दै धन्यबाद ज्ञापन गरेका थिए। गायक तथा साहित्य चौतारीका अध्यक्ष हस्त परियारले गीत प्रस्तुत गरेको सो कार्यक्रमको सञ्चालन पुण्यप्रसाद सग्देलले गरेका थिए।































