निर्वाचन नजिकिँदै जाँदा बढ्यो पाकिस्तानमा सुरक्षा चिन्ता

0
7

इस्लामाबाद ।

पाकिस्तानले आगामी महिना हुने निर्वाचनअघि देशको उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने भएको छ । करिब २४ करोड जनसंख्या भएको पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदै छ । पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसा हुने गरेको इतिहासलाई मध्यनजर गर्दै सरकारले सुरक्षा बढाउने तयारी गरेको छ ।

फेब्रुअरीको पहिलो साता करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने अधिकारीले जानकारी दिएका छन् । देशका लोकप्रिय नेता इमरान खानलाई कारागारमा राखेर गर्न लागिएको निर्वाचनमा धाँधलीको डर उच्च छ ।

‘सुरक्षा स्थिति बिग्रिँदै गइरहेको छ र मतदानको दिन मतदान केन्द्रहरूमा अतिरिक्त प्रहरी टिम तैनाथ गरिनेछ,’ एक वरिष्ठ क्षेत्रीय सरकारी अधिकारीले भने । उनका अनुसार अतिरिक्त सत्र सय एफसी बल राजधानी इस्लामाबाद र चार सय दक्षिणी तथा सबैभन्दा धेरै जनसंख्या भएको सहर कराँचीमा तैनाथ गरिनेछन् । एफसी बललाई आतंकवादी हमलाको चपेटामा परेका प्रहरीलाई सहयोग गर्ने जिम्मा दिइनेछ ।

यसैबीच मंगलबार सिन्ध प्रान्तका मुख्यमन्त्री मकबुल बकरले निर्वाचनमा उम्मेदवारमाथि आक्रमण हुन सक्ने गुप्त रिपोर्ट प्राप्त भइरहेको चेतावनी दिएका छन् । पाकिस्तानका लागि सबैभन्दा ठूलो आतंकवादी खतरा तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी) लाई मानिन्छ । इस्लामाबादले काबुलको तालिबान सरकारमाथि टिटिपी लडाकुलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा आक्रमणको छुट दिएको आरोप लाग्दै आएको छ । काबुलले बारम्बार ती आरोपलाई अस्वीकार गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here