माईको पूर्वी किनार सरसफाई

0
12

सुरुङ्गा ।

झापाको पवित्र एवम् धार्मिक स्थल कनकाई माईको पूर्वी किनारमा गत पुस २९ गतेबाट माघ २ गतेसम्म माइवेनी मेला लागेको स्थानको सरसफाई गर्न शुरु गरिएको छ ।

आफ्नो काम आफैं गरौं भन्ने मूल नाराका साथ कनकाई वडा नं. ४मा रहेको उक्त स्थानको वडाकै अगुवाईमा सबै टोल विकास संस्थाको सहयोगमा मेलास्थलको सरसफाई शुरु गरिएको वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

मेला स्थल धार्मिक क्षेत्र पनि भएकाले मानिसका लागि सरसफाई अतिआवश्यक छ भन्दै सरसफाई कार्यक्रम शुरुवात गरिएको वडाध्यक्ष सुवेदीले बताए । स्वच्छ वातावरणमा जिउनका लागि सरसफाई आवश्यक छ । त्यसमा पनि पर्यटकीय एवम् धार्मिक क्षेत्रको सरसफाई गर्नु हामी सबैको दायित्व हो भन्दै सरसफाई शुरु गरिएको र यो नसकिञ्जेलसम्म निरन्तर भइरहने कार्यपालिका सदस्य लक्ष्मी कटुवालले बताइन् ।

तीन दिनसम्म लागेको मेलामा यस वर्ष विगतमा भन्दा भक्तजनहरु पनि धेरै आएको र मेला सम्पन्न भएको बताइएको छ । मेला भर्न नेपालका विभिन्न ठाउँ छिमेकी मुलुक भारतका साथै भुटानबाट समेत हजारौंको संख्यामा भक्तजनहरु सहभागी भएको बताएको छ ।

मेला सम्पन्न गर्न यसपटक ४ सय १ सदस्यीय मेला व्यवस्थापन समिति बनाई परिचालन गरिएको थियोे । यसपटक मेलामा उत्तिकै मात्रामा स्वयम्सेवक र नेपाल प्रहरी, सशस्त्र प्रहरी र यातायातको व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी खटाइएको थियोे ।

यस वर्ष विगतझैं ट्राफिक जाम नभई सहज रुपमा यातायात चलाउन सफल भएकोे यातायात व्यवसायीहरुले बताएका छ्न् । मकर संक्रान्तिका दिन कनकाई माईमा मकर स्नान गरेर तिलको लड्डु, तरुल खाएर तिलको आगो ताप्नाले मनोकामना पूरा हुने, छालाको रोग नलाग्ने जनविश्वास रहिआएको छ । माईवेनी मेलामा विभिन्न खाद्य परिकार र खेल तमासाहरु राखिएको थियोे भने मकर स्नान गर्न आउनेहरुको सुविधालाई ध्यानमा राखेर ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था समेत मिलाइएको थियोे ।

मेला भर्न आउनेहरुका लागि उचित ट्राफिक व्यवस्थापन र वारिपारि गर्नका लागि कनकाई नदीका भिन्नभिन्न स्थानमा अस्थायी पुल समेत बनाइएपछि कनकाई माईपुलमा सवारी आवगमन समेत सहज भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here