निरन्तरता मात्र नहोस्

0
6

सरकारले सबै स्थानीय तहमा नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले नवप्रवर्तन स्थानीय आर्थिक विकास कार्यक्रमका लागि देशभरबाट पालिकाको छनोट गरेको छ । कार्यक्रमका लागि झापाका पन्ध्र वटा पालिका मध्ये तीन वटा स्थानीय तह झापा, कमल र कचनकवल गाउँपालिका छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि विज्ञबाट रायसुझाव लिएर कार्यविधि टुङ्ग्याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्रोत परिचालन समन्वय शाखाका अधिकृत नमराज सापकोटाले कार्यक्रम सञ्चालनका लागि ८८ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी दिएका छन् । कार्यक्रम सञ्चालनका लागि देशभरबाट दुई सय ४२ वटा स्थानीय तहले निवेदन दिएकोमा तोकिएको योग्यता र आधार पूरा गरेका तहलाई कार्यक्रमका लागि छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष ०७९–०८० को बजेट वक्तव्यमा ‘एक घरपरिवार–एक रोजगार, एक वस्तु–एक आर्थिक पहिचान, एक वडा–एक बजारको अवधारणा’ ल्याएको थियो । उक्त अवधारणाको कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहको लागत साझेदारी र निजी क्षेत्रसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको थियो । आर्थिक सशक्तिकरण, सिप विकास, व्यवसाय प्रवद्र्धन, उद्यमशीलता, औद्योगिक प्रवद्र्धन, विशिष्टकृत वस्तु उत्पादन कार्यक्रम र स्थानीय आर्थिक विकास पूर्वाधार विकासमा लगानी गर्ने योजना अनुसार छनोट भएका पालिकाहरुले कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कार्यक्रमको सञ्चालनबाट एकै पटक आर्थिक जागरणको परिस्थिति निर्माण हुने सरकारले अपेक्षा गरेको छ । स्थानीय तहलाई प्रतिष्पर्धी बनाउँदै उनीहरु कै अपनत्व हुने गरी कार्यक्रम सञ्चालन गर्दा आर्थिक रुपान्तरणमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

सरकारको योजना अनुरुप आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० बमोजिम आर्थिक वर्ष ०८०/०८१ को कार्यक्रम सञ्चालन गर्न निवेदन दिएका मध्ये कोशी प्रदेशका २० वटा पालिका छनोट भएका छन् । मन्त्री अनिता देवी आफैंले छनोट गरेका सबै पालिकाहरुले सञ्चालन गर्ने कार्यक्रमको सूचकको अनुगमन तथा प्रतिवेदनको मूल्याङ्कन जिल्ला समन्वय समितिले गर्नेछ । सरकारबाट प्राप्त अनुदान दुरुपयोग हुने, भ्रष्टाचार हुने र उद्देश्य अनुकूल योजना सम्पन्न नहुने विगतका कमी–कमजोरी हटाउन सकिएन भने यो योजना पनि विगतकै निरन्तरता मात्र हुने डर यथावत छ । यस्तोमा कार्यक्रम नाराकै लागि मात्र नहोस् भन्नेतर्फ सरोकारवाला सबै इमान्दार हुन जरुरी छ । त्यसले मात्र युवाहरुमा सिप विकास गर्न र आर्थिक विकासमा सहयोग हुनेछ, जसले समृद्ध नेपालको आकांक्षालाई पूर्ण बनाउन योगदान दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here