चीनमा एक वर्षमै घट्यो २१ लाख जनसङ्ख्या

0
6

काठमाडौं ।

चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ को भन्दा २०२३ को अन्त्यसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको हो । अहिले चीनको जनसङ्ख्या १ अर्ब ४० करोड ९० लाख छ ।

२०२२ मा पनि चीनको जनसङ्ख्यामा गिरावट आएको थियो । तर २०२३ को गिरावट अघिल्लो वर्षको भन्दा दोब्बर हो । २०२२ मा चीनको जनसङ्ख्यामा ६० वर्षपछि पहिलो गिरावट देखिएको थियो । २०२३ मा चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक बन्न पुगेको छ। भारतको जनसङ्ख्या १ अर्ब ४२ करोड ५० लाख छ । जन्म दरमा आएको उल्लेख्य कमी र तीव्र सहरीकरणका कारण यो परिणाम अपेक्षित नै रहेको विज्ञहरूले टिप्पणी गरेका छन् ।

२०२३ मा जन्मदर घटेर प्रतिहजार व्यक्तिमा ६ दशमलव तीन-नौ पुगेको बेइजिङका अधिकारीहरूले बताएका छन् । २०२२ मा जन्मदर प्रतिहजार व्यक्तिमा ६ दशमलव सात-सात थियो । यो जन्मदर सन् १९४९ मा कम्युनिस्ट शासन स्थापना भयायताको सबैभन्दा कम भएको जनाइएको छ । २०२३ मा करिब नब्बे लाख शिशु जन्मिएका छन् भने त्यसको अघिल्लो वर्ष ९५ लाख ६० हजार जन्मिएका थिए ।

बढ्दो जनसङ्ख्या वृद्धि रोक्न भन्दै चीनले सन् १९७९ मा एक मात्र बच्चा जन्माउन पाउने नीति ल्याएको थियो । तर २०१५ मा एक सन्तान नीति हटाएर दुई सन्तान नीति ल्याइयो । २०२१ मा सो नीतिलाई थप खुकुलो पार्दै एउटा दम्पतीले तीन सन्तानसम्म जन्माउन पाउने नीति ल्याइयो । तैपनि अपेक्षित रूपमा जनसङ्ख्या वृद्धि हुन सकेको छैन ।

कोभिड रोकथामका लागि तीन वर्षदेखि लगाइएको कडा प्रतिबन्ध गत वर्षको सुरुवाती महिनामा एकाएक हटाइएपछि चीनमा मृत्यु दर पनि निकै बढेको बताइएको छ । २०२३ मा चीनमा १ करोड ११ लाख मानिसले ज्यान गुमाए भने यो सङ्ख्या २०२२ भन्दा करिब ६९ लाखले बढी हो । कान्तिपुरटिवि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here