राम मन्दिर उद्घाटनको शुभकामना

0
10

भारत उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित भगवान रामको मूर्तिमा आज प्राण सञ्चार गरिँदैछ । विश्वका विभिन्न मुलुकमा रहेका वैदिक सनातनी हिन्दूहरूले गरेको दीर्घ प्रतिक्षा पूरा हुने खुशियालीमा मन्दिरहरूमा दीप प्रज्ज्वलित गरिँदैछ । त्रेतायुगका मर्यादापुरूष भगवान श्रीरामको जन्मस्थल अयोध्या बेहुली झैं सिँगारेको छ । तत्कालन मुगल सम्राट बाबरको समयमा उक्त स्थानमा मस्जिद निर्माण गरेपछि विवादित सो विषयमा धेरैको ज्यान समेत गएको थियो । राम मन्दिर कि बाबरी मस्जिद भन्ने विवाद अन्ततः अदालत पुग्यो । मुद्दाको लामो बहसपछि भारतीय सुप्रिम कोर्टले अयोध्या श्रीराम जन्मभूमि रहेको फैसला गरेर लामो समयको विवादको शान्तिपूर्ण निरुपण गरेको थियो ।

हजारौंको बहुमूल्य जीवन गुमेको यो विवादको निरूपणले भारतको राजनीतिमा समेत तरङ्ग ल्यायो । राम मन्दिर विषय उठाउन भारतीय जनता पार्टी राष्ट्रिय राजनीतिलाई आफ्नो पकडमा ल्याउन सफल भयो । उसकै अगुवाइमा भूमि पुजनसहित मन्दिर निर्माण कार्य शुभारम्भ भयो । लामो संघर्ष र ठूलो लगानीपछि आज हुन लागेको समुद्घाटन समारोहमा सहभागी हुन देश–विदेशबाट सन्तमहन्तसहितका पाहुना अयोध्या पुगिसकेका छन् । सोही समारोहमा भगवान रामको ससुराली घर नेपालको जनकपुरबाट अनेक कोसेली र उपहारसहितको टोली पुगेका छन् । राममन्दिरको उद्घाटन समारोहको भव्यताको लागि अयोध्यामा बेहुली झैं सिंगारिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । प्रत्येक दिन विशेष अनुष्ठानसहित प्राणप्रतिष्ठा गर्न लागिएको भगवान रामको गृह प्रवेशमा सनातनीहरूको घर–घरमा समेत दीपोत्सव गरिँदैछ । समारोहमा उपस्थित साढे छ हजार विशिष्ट पाहुनाहरूको सुरक्षार्थ सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राम मन्दिरको समुद्घाटन साथै भगवान रामको गृह प्रवेशले खासगरी जनकपुरबासी औधी हर्षित छन् । भगवान रामको ससुराली आदर्श छोरी सीताको माइती जनकपुरबाट ज्वाइँको गृह प्रवेशको खुशियालीमा वस्त्र, आभूषण, मिष्ठान्न, फलफूलसहित माइतीपक्ष अयोध्या पुगिसकेका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त यो सुखद् क्षण विश्वभर छरिएर रहेका वैदिक सनातन हिन्दू धर्म मान्नेहरूका लागि गौरवको विषय पनि हो । लामो वनबासपछि गृह प्रवेश हुन लागेका भगवान श्रीरामको आदर्शबाट सबै अनुप्राणित हुन सकौं । उनको जीवन संघर्ष र अटल निष्ठा सबैको जीवन रूपान्तरणको आधार बनोस् । राम मन्दिर समुद्घाटनको भव्यताको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here