अयोध्यामा राम मन्दिर र रामराज्यको आदर्श

0
9

चक्रपाणि गौतम,

आज माघ ८ गते भारतको अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रको मन्दिर निर्माण सकेर श्रीरामको मूर्ति प्राणप्रतिष्ठा सम्पन्न हँुदैछ । हिन्दू धर्मशास्त्रको ज्योतिष गणना विधि अनुसार त्रेतायुगको अन्त्यतिर भगवान श्रीरामको जन्म भएको हो । धर्मपरायण सूर्यवंशी राजाहरुको कुलमा राजा दशरथका पुत्रका रुपमा साक्षात भगवानले राम अवतार लिएर पृथ्वीमा अन्यायी र पापी राजाहरुलाई समाप्त गरी धर्म स्थापना गरेका कुराहरु विभिन्न कालखण्डमा रचना गरिएका रामायणहरुमा वर्णन पाइन्छ ।

रामायण जस्ता काव्यधर्मिताको मर्यादामा रहेर लेखिएका ग्रन्थहरुका आधारमा आजभन्दा लगभग नौ लाख ५० हजार वर्ष पहिले भारतको सरयु नदी छेउमा रहेको अयोध्यामा श्रीरामको जन्म भएको थियो भनेर सरयु नदी र राम जन्म स्थलको आसपासका क्षेत्रहरुको पनि वर्णन गरेको पाइन्छ । यसरी अयोध्यामा ईश्वरले रामका रुपमा अवतार लिएपछि यो क्षेत्रलाई वेद, पुराण अनि दर्शनलाई आफ्नो जीवनको आधार मान्ने सनातनी हिन्दुहरुले मोक्ष दिने पुण्यक्षेत्रका रुपमा गौरवसाथ स्वीकार गर्दै आएका छन् ।

रामायण कथा अनुसार अवध क्षेत्रमा जबदेखि सूर्यवंशी रघुकूलले आफ्नो कुलीन परम्पराका रुपमा राज्यव्यवस्था सञ्चालन गर्न थाल्यो, त्यस समयदेखि प्रजालाई उचित न्याय प्राप्त थियो । राजा र राजनीति आफै न्यायपरायण भएपछि प्रजामा देशभक्ति इमान्दारिता कर्तव्यनिष्ठा आदि स्वतः हुने नै भयो र रघुकूलमा राज्यको न्यायप्रणाली अति उत्तम रहेको थियो । त्यसबेला अवधको राज्यसीमा धेरै ठूलो थिएन । अवधभरिका प्रजा अति सुखी त थिए, तर सत्ययुगमा स्थापित भारत वर्ष जुन भारत वर्षका सम्पूर्ण क्षेत्रहरुका प्रजा अवध झैं सुखी र खुशी थिएनन् । विद्वानहरु पनि विद्याको दुरुपयोग गरेर कमजोरलाई शोषण गर्दथे ।

सामन्तहरु प्रजाबाट लिएको करको व्यक्तिगत भोग विलास र सुखसयलका लागि उपयोग गर्दथे । शक्तिशाली पुरुष र राजाहरु स्त्री, धन, मदिरा आदिमा आशक्त थिए । धर्मको बाटोमा हिँड्ने ऋषिमुनिहरुलाई पनि कुत्सित विचार भएका मानिसहरुले दुःख दिइरहन्थे । यज्ञ योगादिको अपव्याख्या गरेर प्रबुद्धहरु धन संग्रह गर्नका लागि यज्ञ गर्ने गर्दथे । प्राणीमा धर्मको भावना समाप्त भइसकेको अवस्था थियो । यसैबेला अवधको अयोध्यामा राजा दशरथको घरमा मर्यादा पुरुषोत्तमका रुपमा श्रीरामको जन्म भयो ।

श्रीरामले जहिले पनि पारिवारिक सामाजिक र राजनीतिक रुपमा पालना गर्नुपर्ने मर्यादापालन गरिरहनुभयो । यसकारण श्रीरामलाई मर्यादा पुरुषोत्तम भनियो । विवाहपश्चात १४ वर्ष वनबासी भएर रामले आफ्नो कूल मर्यादा अनुसार वनबासी आदिवासी समुदाय र प्राणीहरुको कल्याण गर्नुभयो । वनबास मै रहँदा धनसम्पदाले सम्पन्न लंकाका राजा रावणबाट अपहरित आफ्नी पत्नी सीतालाई रावण र उसको कुशासनबाट प्रशिक्षित अनुयायीहरुको बध गरेर आफ्नो राज्यमा ल्याउनु भयो । वनवासको क्रममा भगवान श्रीरामलाई अनेकौं आदिवासी वनवासी जनजातिहरुले साथ दिए र उनीहरुको साथ लिएर नै वनजंगल र त्यहाँका वन्यप्राणीहरुलाई निर्भयता प्रदान गर्नु भयो ।

श्रीरामको जीवन र चरित्रको दार्शनिक विवेचन गर्ने हो भने श्रीरामलाई सर्वत्र असल र योग्य राजनीतिज्ञका रुपमा चित्रण गर्न सकिन्छ । रामराज्यको अवधारणा भनेको सांस्कृतिक राष्ट्रवाद हो । सांस्कृतिक राष्ट्रवाद भनेको एकै प्रकारको राष्ट्रिय चरित्र हो । मानव जीवनमा व्यक्तिका व्यक्तिगत गुणदोष चिन्तन चरित्र र व्यवहारहरु हुन्छन् । तर, त्यस्ता व्यक्तिगत कुराहरुलाई धर्ममा अनुबन्ध गराएर सम्पूर्ण नागरिकमा एकात्मक चिन्तन र भावना जागृत गराउनु नै रामराज्यको अवधारणा हो । रामराज्यको अवधारणा धर्म आधारित छ । मानिसलाई धर्मको बाटोमा हिँडन सिकाउने श्रीमद्भागवत गीताको ईश्वर ‘सर्वभूतेषुः ह्द्देशेर्जुन तिष्ठति’ यो भनाइ अनुसार प्रत्येक व्यक्तिले अर्को प्राणीमा ईश्वरको बास छ भन्ने सोच्नु पर्दछ । यसरी अर्को व्यक्तिमा ईश्वरको स्वरुप देखिसकेपछि व्यक्ति आफूलाई प्रतिकूल हुने व्यवहार अरुलाई पनि गर्दैन । जब कुनै पनि व्यक्ति धर्मभावनाले ओतप्रोत भएर अरु सबै प्राणीप्रति सौहार्द बन्दछ ।

कहीँ कतै कुनै पनि कर्ममा पाप जन्मदैन, अपराध जन्मदैन । धर्मनीति अनुसार धर्मका लक्षण भनेका धैर्यता, क्षमा, दुर्भावनाको, दमन, चोरी नगर्नु, स्वास्थ्य र सफाईप्रतिको प्रतिबद्धता, इन्द्रीयनि ग्रह, समाज उपयोगी विचार प्रवाह, लोककल्याणकारी विद्या अभ्ययन, सत्यभाषण र प्रतिशोधरहित कार्य व्यापार हुन् । यी धर्म प्राप्तिका लक्षणहरु जब मानिसले आफ्नो आचरणमा ल्याउँछ, तब कुनै कानून नै बनाउनुपर्ने आवश्यकता रहँदैन । रामराज्यको ब्याख्या गर्दै रामायणमा उल्लेख गरिएको छ– ‘न राजा न प्रजा चासित न दण्डो न च दाण्डिक’ अर्थात् जुन समयमा रामको राज्य थियो त्यसबेला राजा पनि थिएनन्, राजा नभएपछि प्रजा पनि हुने भएनन्, दण्ड विधानको कुनै कानून थिएन र दण्ड सजाया पाउनुपर्ने कुनै अपराधी पनि थिएनन् । यसको अर्थ हो रामराज्यमा राजा प्रजा राज्यनीति सबै भए पनि राजामा आफू राजा हुँ भन्ने अभिमान रहँदैन र प्रजालाई पनि आफू कसैबाट शासित व्यक्ति भएको महशुस हुनुहँुदैन । यसरी रामराज्यमा सबैले आ–आफ्ना संस्कार, संस्कृति स्वतन्त्रतापूर्वक मान्न पाउँथे, तर सबैको राष्ट्रिय चरित्र एक थियो ।

रामराज्य भनेको विविध संस्कृतिमा निरपेक्ष र राष्ट्रिय चरित्रमा सापेक्ष चिन्तन हो । रामराज्यको वर्णन गरेको एक प्रसंगमा भनिएको छ– ‘न स्वैरि स्वैरिणी कुतः’ यसको मतलब हो– रामराज्यमा वेश्यागमन गर्ने पुरुष नै थिएनन् भने वेश्यावृत्ति गर्ने स्त्री हुने कुरै भएन । जब राज्यमा अभियुक्त नै रहँदैन अभियोजन पक्ष रहने कुरै भएन । वेश्यागमन वा बलात्कार मानिसको मन चिन्तन, चेतना र सामाजिक प्रतिष्ठालाई समेत पतन गराउने कार्य भएकाले धर्मनीतिमा कामबासनाको (यौनऊर्जा) उपयोग निश्चित कार्यका लागि मात्र गर्न निर्देशन गरियो र रामराज्यमा नागरिकले यसको पालन पनि गरे र समाज अपराध शून्य बन्न सक्यो । यसैगरी कृषि संशाधन खाद्यान्न लगायतका वस्तुहरुको भण्डारण र वितरण प्रणालीलाई धर्मसँग जोडियो र व्यक्तिले संशाधनको अनुचित भण्डारण गर्नुलाई चोरी भनियो ।

‘यावत भ्रियेत जठरं तावत सत्वं हि देहीनाम् । अधिकं योभिमन्येत स स्तेनो दण्डमर्हति’ अर्थात् मानिसले आफूले उत्पादन गरेको अन्न आदि आफूलाई आवश्यकता परे जति मात्र राख्नु आवश्ययकताभन्दा बढी राख्ने चोर हो र त्यस्ता चोरलाई दण्ड दिनुपर्छ भनेर रामराज्यलाई सहयोग गर्न पुराणहरुले नीति र कानून त बनाएका छन् । तर, यी र यस्ता कानूनको अवलम्बन रामराज्यले गर्नै पर्दैन । किनभने मानवीय भावना र प्राणीमा सद्भावना जागृत गर्न मानवीय चेतनाभित्र सर्वत्र ईश्वर दृष्टिगोचर गर्ने राष्ट्रिय चरित्र धर्मले मात्र स्थापित गर्न सक्दछ । रामराज्यको अवधारणा भनेको राज्य संस्कृति निरपेक्ष र धर्मसापेक्ष हो भनेर बुझ्न सकिन्छ ।

भिन्न संस्कृति र विचार वाहकहरुलाई एक राष्ट्रिय चरित्रको मूलधारमा ल्याउन रामचरितत्र मानसमा प्रसिद्ध दोहा छ । ‘सीयाराममय सब जग जानी । करहु प्रनाम जोरी जुग पानी’ यसको अर्थ हो– जब मानिसले सबै सबैमा सीताराम देख्दछ तब ऊ सबैसँग झुक्दछ सम्मान गर्दछ । राज्य व्यवस्थामा सबैको सम्मान गर्दै एक राष्ट्रिय चरित्रको राज्यनीति आजको वैश्विक आवश्यकता हो र अयोध्यामा शताब्दीयौंदेखिको संघर्षबाट प्रतिष्ठित राममन्दिर केवल मन्दिर मात्र नभएर युगीन सभ्यताको पुनस्र्थापनाका लागि प्रतिष्ठित युगान्तकारी अभियान पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here