विद्यार्थी र गरिबीको पीडा

0
12

माघ महिना लागेसँगै चिसो निकै बढेको छ । हुने खाने र हुँदा खानेको दुरीको फराकिलोपनले कयौं मानिसहरु निरीह जीवन बिताउन विवश छन् । खानाको बन्दोबस्तसम्मका लागि सधँै कडा परिश्रम गर्ने गरिबीको जीवन बिताइरहेका मानिसहरुका लागि न बस्नका लागि चिसो सिरेटो छल्ने घर छ, न आङमा जाडो ढाक्ने न्यानो कपडा नै छ । अझ ती अभावमा बाचेका मानिसहरुको दयनीय अवस्था यस जाडोयाममा उनीहरुका बालबालिका मार्फत विद्यालयहरुमा झन् प्रष्ट देख्न सकिन्छ ।

सरकारी कयौं विद्यालयमा जाडोयाममा पातला सर्ट र पातला नै पाइन्ट, फ्रक लगाएर छात्रछात्रा विद्यालयमा पढ्न जान्छन् र चिसो वेञ्चमा ६ घण्टा बस्दा कति कष्ट हुँदो हो । न्यानो कपडा लगाएर तातोमा बस्नेहरुलाई अनुभव नहुनु स्वभाविकै हो । बालबालिका भविष्य निर्माणका सपना बोकेर विद्यालय जान्छन् । तर, उनीहरु चिसोको कारण न पढ्न सक्छन्, न सहजरुपमा ती सुनौला सपनाहरुको साकार रुप दिन मानसिक रुपमा तयार हुन सक्छन् । उनीहरुलाई अरुले लगाएको न्यानो कपडाले पनि हतोत्साही गर्न सक्छ । मसिनो गरी केलाएर हेर्ने हो भने गरिबीभित्र प्रतिभा प्रष्फुटन हुने कयौं सम्भावनाहरु त्यतिकै ओइलाइरहेका हुन्छन् ।

हुन त संसारका कयौं महान व्यक्तित्वहरुको जीवन पढ्ने र हेर्ने हो भने उनीहरु जीवनको दुःखद् परिस्थिति झेलेर, आगोसँग खेलेर र मृत्युसँग लडेर बाचेर महान बन्न सकेका छन् । तर, त्यो समय आजको जस्तो सुविधाजनक समय थिएन । त्यहाँ हुने र नहुने सबैले करिब उस्तै–उस्तै जीवनशैली बिताउनुपथ्र्यो । आजको युग त्यस्तो रहेन, आजको युग भनेको सूचना र प्रविधिको युग हो ।

सिंगो संसार एउटा टेबलमाथि टिभी र हातमा मोबाइलबाट नियाल्न सकिने युगमा पनि मानिसले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका सामग्री र सुविधाबाट वञ्चित हुनु मानव सभ्यताका लागि धेरै दुःखद् कुरा हो । त्यसैले हामीले सोच्ने तरिका र सेवाभावका नजरले हेर्ने प्रयास ग¥र्यौ भने अवश्य अरुप्रति दयालु बन्न सक्छौं । अतः यो लेख मार्फत विद्यालयमा पढ्ने अति गरिबीको पीडाले न्यानो कपडासम्म लगाएर विद्यालय आउन नसक्ने विद्यार्थीहरुका लागि राष्ट्र, समाज र विद्यालय व्यवस्थापन समितिले अब केही कुरा सोच्ने हो कि ? किनकि यो संसार हुनेले नहुनेलाई सेवा र सहयोग गर्नका लागि हो । अवश्य हामीलाई दुःख–कष्ट मन पर्दैन भने हामी त्यसबाट छुटकारा पाउनका लागि सबै मानिसहरुलाई आफ्नो परिवारको सदस्य झैं माया गर्न सक्छौं, सक्नुपर्छ यो हाम्रो कर्तव्य र धर्म पनि हो ।

यसका लागि सबै सम्बन्धित पक्षका महानुभावहरुप्रति सविनय अनुरोध छ कि यति कष्टकर जीवन भोगिरहेका बालबालिकाका लागि तत्कालमा विद्यालयका शिक्षकहरुले आफूले पाउने तीन सय ६५ दिनको तलब सुविधाबाट एक दिनको तलब बराबरको रकम सामाजिक उत्तरदायित्व सम्झेर सेवाभावले विद्यार्थीहरुका लागि सहयोग गर्न सकिन्छ । त्यसैले तपाईको एकदिनको सहयोगले जाडोमा लुगलुग काम्दै विद्यालय पुग्ने विद्यार्थीले न्यानो कपडा लगाएर विद्यालय पुग्ने थिए कि । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here