स्वतन्त्रता र लोकतन्त्रका पृष्ठपोषक शहीदहरु

0
22

अहिले हामी शहीद सप्ताहमा छौं । हरेक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्मको समयावधिलाई शहीद सप्ताह मानिन्छ । शहीदको सम्झना गर्ने, उनीहरुका योगदानलाई सश्रद्धा स्मरण गर्ने, उनीहरुको बलिदानबाट प्राप्त आजको खुला परिवेशप्रति उनीहरु प्रति अनुगृहित हुने र शहीदका सपनालाई विपनामा रुपान्तरित गर्न कृतसंकल्पित हुने अवसरका रुपमा शहीद सप्ताहलाई लिइन्छ ।

आज हामी खुलारुपमा आफ्ना विचारहरु राखिरहेका छौं । गौरव र स्वाभिमानका साथ शिर ठाडो पारेर स्वतन्त्रता र लोकतन्त्रका गीतहरु गाइरहेका छौं । आजको अवस्था सृजना गर्न सयौं, हजारौं महान देशभक्तहरुको त्याग, शौर्य र शहादतले प्रमुख भूमिका खेलेको छ । शहीदहरुले आफ्नो पूरा आयु नबाँची देश र देशवासीका लागि आफ्नो जीवनको बलिदान गरे । शहीदहरुले गरेको यो महान् र अतुलनीय योगदानको हामी मूल्यांकन गरिरहेका छौं ? उनीहरुको नाम स्वर्ण अक्षरले इतिहासमा अंकित छ । इमानदार र स्वाभिमानी प्रवृत्तिका शहीदहरुले आफ्नो जीवनको कुर्बानी गरेर देशले के पायो र देशवासीले के पाए ? आज यो प्रश्न यक्ष प्रश्न बनेर हाम्रोसामु उभिएको छ ।

घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने र पुरातन रुढीवादी सोचका बिरुद्ध उभिने शहीदहरुको बलिदानले मुलुकका आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक सबै क्षेत्रमा आमूल परिवर्तन आउने अपेक्षा गरिएको थियो । शहीदको रगतको के मूल्य भयो ? विपन्न र दुःखी देशवासीका अनुहारमा कान्ति आयो ? शहीदले स्वाभिमानलाई लिलामी गरेनन् । लोकतन्त्र विरोधी, स्वतन्त्रताका हरणकर्ताका बिरुद्धमा उभिने शहीदहरुले रातो रगत नेपाली धर्तीमा पोखे, तर शहीदका बलिदानले आजका कलिला नानीका गालामा लाली ल्यायो ? निश्चय नै शहीदको सपना व्यवहारमा प्रतिबिम्बित हुन सकेको छैन ।

स्वतन्त्रताप्रतिको अगाध आस्थासहित दृढ़संकल्प बोकेर देशमा व्याप्त अत्याचारका बिरुद्धमा शहीदहरुले बिगुल फुके । शहीदको पुकार आजको सरकार, राजनीतिक दलहरु र स्वतन्त्रताप्रेमीले सुनिरहेका छन् ? राष्ट्रव्यापीरुपमा गणतन्त्रका लागि सडकमा उत्रेका आन्दोलनकारीले लगाएका गगनभेदी नाराको आज सार्थकता के भयो ? वैचारिक रुपमा लोकतन्त्र र गणतन्त्रका लागि हाँसी–हाँसी तातो गोली थापेका नेपाल आमाका सर्वोत्तम सन्तानहरुको रगतको मूल्यको कसले खोजी गरिरहेको छ ? मुठी उचालेर क्रान्तिकारी बाटो रोज्नु भन्न जति सजिलो छ, व्यवहारमा त्यति नै अप्ठेरो छ ।

मानिसका लागि आफ्नो जीवनभन्दा प्यारो केही हुन्न, तर शहीदका लागि त मुलुक र मुलुकवासी आफ्नो प्राणभन्दा प्यारा भए । भोका नाङ्गा जनताका लागि सहानुभूति देखाउनु र उनीहरुका लागि जीवनको न्यौछावर गर्नु चानचुने कुरा होइन । हामी कति सजिलै भनिदिन्छौं शहीदका सम्बन्धमा, तर मुलुक र मुलुकवासीका लागि गोली खान, बलिबेदीमा चढ्न र फाँसीमा लट्किन कहाँ त्यति सजिलो छ र ? ओजस्वी विचारका धनी शहीदहरुले दिशानिर्देश गरेको बाटोमा आज मुलुक हिँडिरहेको छ कि छैन, आज हामीले घोत्लिनुपर्ने र चिन्तनमनन गर्ने बेला आएको छ । जनविरोधी, निरंकुश सत्ता र सरकारका विरुद्धमा सक्रिय भूमिका निभाउने क्रममा संगठनकर्ताको रूपमा क्रांतिकारीले दिनरात काम गरे, आफ्नो नीति एवम् उद्देश्यहरुको प्रचार–प्रसार गरे र सार्वजनिक स्थानमा सत्ताको भण्डाफोर गरे ।

लोकतन्त्रविरोधी सरकार बौलाएर सकारात्मक सोचका धनी नेपाल आमाका हजारौंहजार सन्ततिमाथि गोली बर्सायो र वर्षौंवर्षसम्म जेलभित्रका सेलहरुमा बन्दी बनायो । निरंकुश शासकका षडयन्त्र र निरंकुशताका अभेद्य जाल च्यातेर अकरिला उकालो हिँड्दा शहीदहरु कहिले पनि शिर निहुराएर लत्रेनन् । आफ्नै दाजुभाइ, दिदीबहिनी माथि गोली बर्साउने नेपालीहरु नेपाल आमाका सपूत होइनन्, उनीहरु त नरपशु हुन् र कपूतहरु हुन् । सत्ताको उन्मादले आफ्नै देशवासीहरुलाई छातीमा गोली दाग्नेहरु शहीद सप्ताहमा लामालामा स्वतन्त्रताका भाषण दिन सक्छन्, लच्छेदार शहीद गाथा गाउन सक्छन्, आफ्नो नियन्त्रणमा रहेका रेडियोका तरंगहरुमा पट्यारलाग्दो सल्लाहसुझाव दिन सक्छन् र टेलिभिजनका पर्दामा तप्लकतप्लक गोहीका आँशु झार्न सक्छन् ।

स्मरणशक्ति कमजोर हुनेहरुका लागि उनीहरुको अभिनय नाटकीय नलागेर वास्तविक लाग्न सक्छ । तसर्थ, शहीद दिवस मनाउनुको सार्थकता सत्ताको मदमा बौलाएर आफ्नै देशवासीमाथि गोली चलाएर हत्या गर्ने र मुलुकको स्वाधीनता र स्वतन्त्रताका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहीदहरु बीचको फरक छुट्याउनेमा रहन्छ । जब शहीद र शहीदका हत्याराबीच कुनै फरक देखिन छोड्छ, हो त्यही विन्दुबाट शुरु हुने गरेको छ– शहीदको कुर्बानीको अपमान, शहीदको बलिदानको अवमूल्यन र शहीदका सपनाको निर्मम उपहास ।

अधिनायकवादी सत्ताका पिठ्ठूहरुको कोपभाजनमा परेकाहरुलाई सम्झना गर्नु भनेको एक पटक गणतन्त्र र लोकतन्त्रको संस्थागत विकास भयो कि भएन नेपालमा भनेर चिन्तनमनन गर्नु हो । स्वतन्त्रताका लागि बलिबेदीमा चढेका नौजवानहरु नेपाल आमाका लागि शहीद भएका हुन् । हामी सदैव उनीहरुको ऋणी रहने छौं ।

नेपाल आमाका वीर सपूत र क्रान्तिकारीहरुको असीम त्याग र समर्पणका कारणले नै आज हामी अहिलेको अवस्थामा छौं । त्यसैले ‘शहीदको सम्झनामा’ कवितामा नेपाली आधुनिककालका कवि भूपि शेरचन भन्छन्– हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा धड्कन छ शहीदको ।

शहीद सप्ताह मनाइरहँदा कवि भूपिले लेखेजस्तै हामी प्रत्येक नेपालीले शहीदको बलिदानको सार्थकताको खोजी गर्नु र आत्मचिन्तन गर्नु जरुरी छ । प्रत्येक वर्ष मनाइने शहीद सप्ताह र औपचारिक कार्यक्रमले मात्र हाम्रा शहीदको सपना साकार हुन सक्दैन । जसका लागि शहीदले कोरेका पथमा दृढइच्छाशक्ति र इमानदारीका साथ अघि बढ्नु अपरिहार्य हुन्छ । नेपाली जनतालाई रैतीबाट सम्मानजनक नागरिकको हैसियतमा उभ्याउने, निरंकुश सत्ता र शासनको बिरुद्धमा आवाज बुलन्द गर्ने वीर शहीदको योगदानको सबैले सम्मान गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here