फोनिज युके पत्रकारिता सम्मानबाट सम्पादक राई सम्मानित हुने

0
10

झापा ।

‘फोनिज युके पत्रकारिता सम्मान २०२३’ बाट झापाली अग्रज पत्रकार तथा यलम्वर टाइम्सका सम्पादक दिपीन राई (दिपेन्द्र चाम्लिङ) सम्मानित हुने भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारबाट सम्पादक राई सम्मानित हुने भएका हुन् ।फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान–२०२३’ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका प्रमुख सानाम छिरिङ शेर्पाले जानकारी दिए ।

उनका अनुसार सम्पादक राईसँगै ‘फोनिज युके पत्रकारिता पुरस्कार–२०२३’ बाट संगीता चेपाङ पुरस्कृत हुने छिन् । सम्मान र पुरस्कारको राशी २५–२५ हजार रुपैयाँ रहेको छ ।
बैठकमा फोनिज युकेका अध्यक्ष बम थापा सुर्यवंसी, प्रमुख सल्लाहकार तथा छनौट समितिका प्रमुख शेर्पा, सल्लाहकारहरु दुतबहादुर पुन, प्रमिला लाबुङ राई र निबर्तमान अध्यक्ष गोमा रानाको उपस्थिति रहेको थियो ।

सम्मानित सम्पादक राई २०४९ साल दैनिक विवेचनादेखि अनवरत पत्रकारीतामा संलग्न भई जनचाहना साप्ताहिक (कार्यकारी सम्पादक), हिमालय टाइम्स काठमाण्डौ (सम्वाददाता), आजभोलि दैनिक भारत (सम्वाददाता), रुपरेखा साप्ताहिक काठमाण्डौ (सम्वाददाता), मुक्ति आवाज साप्ताहिक (सम्पादक), समावेशी म्यागेजिन (सम्पादक), जनसंसद दैनिक (सहसम्पादक) भई काम गरिसकेका छन् भने हाल यलम्बर टाइम्सका सम्पादक–प्रकाशक तथा यलम्बर टाइम्स डटकममा कार्यरत छन् ।

पत्रकारिता गरेकै कारण माओवादी द्वन्दकालमा शाही सेनाको बंकरमा रहदै चरम यातना भोगेका सम्पादक राई जनमत साप्ताहिक इटहरी, किरात धर्म साहित्य उत्थान केन्द्रिय समिति लारुम्बा, किराँत राई यायोख्खा केन्द्रिय समिति वातावरणीय पत्रकारीता पुरस्कार, नेपाली सेनाबाट २०७९ महारथी पदकबाट विभुषित तथा सम्मान, संघीय लिम्बुवान राष्ट्रिय पार्टी केन्द्रिय समिति गरि दर्जनौं पुरस्कारबाट समेत पुरस्कृत र सम्मानित भइसकेका छन् ।

त्यस्तै युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपोन्मुख चेपाङ समुदायका पत्रकार हुन् । लोपोन्मुख समुदायबाट पत्रकारिता पेसामा आवद्ध संगीता चितवनबाट प्रसारित इच्छा कामना एफएममा कार्यरत छिन् ।

पुरस्कारले चेपाङ समुदायबाट अझ बढी पत्रकारीतामा लाग्न प्रोत्साहन र प्रेरणा मिल्ने फोनिज युकेले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here