आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्ने– शेखर

0
9

बिर्तामोड। 

नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्ने गरी मिहिनेत गरेर पार्टी संगठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत आज झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो निर्देशन दिनुभएको हो । महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वभाविक भएपनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले बैचारिक गुटलाई पार्टी संगठन बलियो बनाउन लगाउनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उहाँले आफू निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राख्नुभयो । सहभागीहरुले उठाएको जिज्ञाशाको जवाफ दिदै नेता कोइरालाले कोशी प्रदेश सरकारको नेतृत्व अन्य दललाई दिनुहुँदैन भन्नेमा आफू स्पष्ट रहेको बताउँदै पार्टीको जो–कोही आएपनि आफ्नो विरोध रहँदैनथ्यो भन्नुभयो ।

राजनीतिमा संकीर्ण मानसिकता राख्नु नहुने बताउँदै उहाँले सबै विचार र आस्थाका ब्यक्तिहरुसँगको निरन्तर भेटघाट र विचार मन्थनपछि नयाँ विचार पस्कन सकिने भनाई राख्नुभयो । अर्को एक फरक प्रसंगमा आफू हिन्दु धर्मावलम्बी भएको स्पष्ट पार्दै नेता कोइरालाले भन्नुभयो–‘राज्यको धर्म हुँदैन भन्नेमा म स्पष्ट छु । मैले मेरो धर्म र संस्कृति अनुसारको आस्था राख्न र संस्कार गर्न पाउनुपर्छ।’ पछिल्लो समय धर्म निरपेक्षताको आडमा ब्यक्तिको आस्था, संस्कार र संस्कृतिमाथि नै प्रहार हुन थालेकोप्रति उहाँले दुःख ब्यक्त गर्नुभयो ।

कृषि उद्योग स्थापना गरेर रोजगारीको सिर्जना अहिलेको आवश्यकता रहेको चर्चा गर्दै उहाँले विपन्नले कृषि अनुदान नपाउने अवस्थाको अन्त्य गर्न माग समेत गर्नुभयो । ‘नेतालाई प्रजातन्त्र आएपनि जनतालाई आएको छैन’–नेता कोइरालाले भन्नुभयो–‘जनतालाई प्रजातन्त्र र सुशासनको प्रत्याभुति दिन सक्नुपर्छ र मात्रै प्रजातन्त्र आएको अनुभुति हुन्छ।’ जनतालाई प्रजातन्त्रको अनुभुति दिन भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले समुदायमा पार्टी स्थापित गरेर एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । नेताको निर्देशन र निगाहमा अवसर पाउने प्रवृत्तिले पार्टीलाई क्षति पुग्ने धारणा राख्दै नेता थापाले यसको अन्त्य नभए पार्टीको भविष्य अन्योलमा पर्ने विचार राख्नुभयो । नेतृत्वको आसपासमा हुनेलाई मात्र अवसर दिने अवस्थाको अन्त्य गरेर योगदानको आधारमा अवसर दिन उहाँको आग्रह थियो ।

पार्टीका केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था परिवर्तन गरी जनताबाट अनुमोदित हुने ब्यवस्था लागु गर्न उहाँले माग समेत गर्नुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले समुदायमा कांग्रेस अभियान एवं पार्टी संगठनको सक्रियताका लागि वडातहमा महाधिवेशन र जिल्ला सदस्यहरुलाई प्रतिनिधि खटाइएको जानकारी दिनुभयो ।

पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केशवराज पाण्डेले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । कार्यक्रममा उषा गुरुङ, नारायण बस्नेत, हर्क फियाक, रतन थिङ्लावो, विटु गुरुङ, किशोर ढुगेल लगायतले आ–आफ्ना जिज्ञाशा राख्दै पार्टीभित्र उमेरहद वा निश्चित पदावधिको ब्यवस्था गर्न, युवाहरुलाई अवसर दिन, गुटगत राजनीति अन्त्य गर्न र समुदायको जिज्ञाशा सम्बोधन गर्न माग गरेका थिए ।

समुदायमा कांग्रेस अभियानका लागि झापा संयोजक समेत रहनुभएका कोइरालाले यसअघि दमक नगर समितिको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here