पीडितको भावनाअनुरुप टिआरसी विधेयक पारित गर्नुपर्ने

0
11
झापा । 
झापा, प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक टिआरसी पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छिन् ।
 प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औँ स्थापना दिवसको कार्यक्रममा उहाँले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने धारणा राखेकी हुन् ।
शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका आधारमा विधेयक अनुमोदन गर्ने प्रयास नगर्न पूर्वउपसभामुख तुम्वाहाम्फेले सुझाव दिनुइन् । पीडित पक्षको भावना के हो भन्ने कुरालाई बिर्सन हुँदैन, उनले भनिन् सङ्क्रमणकालीन न्यायको सवालमा विधेयक पारित गर्दा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यान दिनु पर्छ ।
पूर्वउपसभामुख तुम्वाहाम्फेले सर्वोच्च अदालतको फैसलाअनुरुप पीडितमैत्री विधेयक ल्याउँदा सरकारले सबैको समर्थन पाउने बताइन् । उनले यो अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो । बहुमतको नाममा मानव अधिकार हनन गर्न पाइँदैन ।
यसैबीच  प्रेस चौतारी नेपाल झापाले २६ औं स्थापना दिवस बिविध कार्यक्रम गरेर मनाएको छ । चौतारीले सोमवार ९आज० बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा सम्मान, बिरामी भएका पत्रकारलाई उपचार कोषको रकम बितरण, निःशुल्क आँखा स्वास्थ्य शिविरसहित वनभोजको कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
चौतारीले संगठनको २६ औं स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष तोयानाथ दाहाल  ‘उपेक्षित’ लाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । चौतारीले उक्त पुरस्कार संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा प्रदान गरेको थियो ।
सोही कार्यक्रमकाबिच चौतारीले स्थापना गरेको पत्रकार उपचार कोषबाट विरामी भएका पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको निःशुल्क आँखासमेत परिक्षण गरिएको थियो ।
चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रदिप परियाले गरेको कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रिय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सचिव रेजिना गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा कोषाध्यक्ष तीलक योञ्जनले गरेका थिए ।
 वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत गरिएको कार्यक्रम संयोजक परियारले जानकारी दिए । कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here