पूर्ब मन्त्री बुढाथोकीको निधन प्रति एमाले अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जलि अर्पण

0
8

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।   
पूर्ब प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जलि सभामा पुगेर बुढाथोकीको पार्थीव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । ओली सहित पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले समेत बुढाथोकीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।


यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा , नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु दीपक गिरी , सरिता प्रसाई , अमृत अर्याल, पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतले बुढाथोकीको पार्थीव शरीरमा पुष्पगुच्छा चढाउदै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
बुढाथोकीको कनकाई माईमा आज सामाजिक परम्परा अनुसार अत्येष्टि गरिएको छ । यस अघि बुढाथोकीको शवयात्रामा हजारौले सहभागिता जनाएका थिए । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाट निकालिएको शवयात्रामा हजारौंको सहभागिता रहेको हो । त्यसअघि स्व. नेता बुढाथोकीको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको थियो । स्व. नेता बुढाथोकीको श्रद्धाञ्जल सभामा ठूलो संख्यामा विभिन्न पार्टीका नेता कार्यकर्ता , संघ संस्थाका प्रतिनिधि, व्यवसायी , शुभेच्छुक ,सर्वसाधारणहरु उपस्थित रहेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । अर्जुनधारा निवासी बुढाथोकीको सोमवार राति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here