फाइनलमा अर्जुनधारा–३ र अर्जुनधारा–८ ले प्रतिस्पर्धा गर्ने

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो यू–१८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८०को फाइनलमा अर्जुनधारा–३ र अर्जुनधारा–८ ले प्रतिस्पर्धा गर्ने भएको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा मंगलबार सम्पन्न भएको पहिलो सेमीफाइनलमा अर्जुनधारा–३ले अर्जुनधारा–१०लाई र अन्तिम सेमीफाइनलमा अर्जुनधारा–८ ले अर्जुनधारा–९लाई पराजित गर्दै दुवै टिमले प्रतिस्पर्धा गर्ने भएको हो ।

पहिलो खेलमा अर्जुनधारा–३ले अर्जुनधारा–१० लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेका थिए । निर्धारीत समयमा दुवै टिमका खेलाडीबाट गोल नभएपछि पहिलो सेमीफाइनल खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । अर्जुनधारा–३को जीतको लागि सन्तोष लिम्बू, अनुप कुरुम्वाङ, प्रतिक कन्दङवा र भूवन वि.क.ले गोल गरेका थिए ।

पराजित टिम अर्जुनधारा–१० का लागि विशाल चौधरी र मनोज राईले गोल गरेका थिए । मिक्सेन लिम्बू र मिलन नेम्वाङको प्रहारलाई अर्जुनधारा–३ का गोलरक्षक सौरभ वि.क.ले रोकेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडी घोषित गोलरक्षक वि.क.लाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”ले नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

यता दोस्रो खेलमा अर्जुनधारा–८ ले अर्जुनधारा–९ लाई ४–१ गोल अन्तरले पराजित गरेका थिए । अर्जुनधारा–८को जीतको लागि खेलको २९औं र ३३औं मिनेटमा समिर हेमरम र भूपेन अधिकारीले गोल गरेका थिए । थप दुई गोल खेलको ५१औं र ५८ औं मिनेटमा प्रभाव नेपालले गरेका थिए ।

पराजित टिम अर्जुनधारा–९ का लागि खेलको ५९औं मिनेटमा देवासीस राईले सान्तवना गोल गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडी घोषित भूपेन अधिकारीलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”ले नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले अर्जुनधारा–८स्थित शनिश्चरे फुटबल क्लबको आयोजनामा गत माघ १९ गतेदेखि शुरु भएको उक्त प्रतियोगिताको फाइनल यही माघ २६ गते हुने छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here