हरियाली वनको छुट्टै महत्व

0
11

गोपाल अधिकारी
झापा । बिर्तामोड–६ बुट्टाबारीस्थित जैविक विविधतायुक्त भौगोलिक र पर्यावरणीय दृष्टिकोणले समेत हरियाली वनको छुट्टै महत्व रहेको छ । सामुदायिक वनका नामले परिचित यो वन पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको छ ।
यसको पूर्वमा हातेमालो वन, पश्चिममा देउनिया, खोला उत्तरमा महेन्द्र राजमार्ग र दक्षिणमा सुन्दर निचाझोडा वन १४९.७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । विविध जैविक विविधता भएको यो वनमा १५ भन्दा बढी प्रजातिका रुखहरू र बोटबिरुवाहरू पाइन्छन् ।
यस वन क्षेत्रभित्र साल, सिसौ, चिलाउने, बोटधमेरो तालिका, कालिकाठ, बर्रो, क्यामुना लगायतका रुख तथा हात्ती, बाँदर, स्याल, बँदेल, मृग, हरिण, कछुवा, सालक, विभिन्न प्रजातिका सर्पहरू र चराचुरुङ्गी समेतको बासस्थान रहेको छ । उष्ण र उपोष्ण दुवै हावापानीमा पाइने वनस्पतिहरू पनि यस वनका विशेषताहरू हुन् । समुद्र सतहबाट ७०देखि १२० मिटर उचाइमा अवस्थित यो वन परिधिभित्र स–साना खोला खोल्सी, सिमसार, पोखरी, होचा अग्ला थुम्काहरू खुल्ला चौरलाई गुरु योजनामार्फत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजाने कार्य अगाडि बढेको जनाइएको छ ।
गत २०८० साल मंसीर ७ गते राष्ट्रियसभाकी उपसभामुख इन्दिरा रानामगरले एक कार्यक्रमकाबीच गुरु योजनासहितको वनभोजस्थल र सिमसारको उद्घाटन पश्चात स्थलगत अवलोकन गरेकी थिइन् । यस वनलाई चार खण्डमा विभाजन गरी खण्ड १ अन्तर्गत किराँत राई यायोख्खा साकेला थान, लिम्बू जातिको याक्थुङ चुम्लुङ माङ्सेवादेन, निर्माणाधीन सिमसार क्षेत्र, खेलकुद मैदान, पार्क, वनभोजस्थलसहित २३. ५२ हेक्टर क्षेत्रफलमा छ । त्यस्तै खण्ड २ चिलाउने घारीले चिनिने क्षेत्र ३४.५४ हेक्टरमा छ । क्रमशः खण्ड ३लाई कालीदह, बँदेलचौर र देउनिया वनले चिनिने खण्डको क्षेत्रफल ९२.२ हेक्टरमा खण्ड ३ अन्तर्गत पञ्चबराही देवी उत्पत्ति भएको जनविश्वास अनुसार स्थानीयले पूजाआजा गर्दै आइरहेका छन् ।
धार्मिक पर्यापर्यटन तथा सिमसार क्षेत्र प्रवद्र्धन ०७९–२०८४ सालसम्मको गुरु योजना अनुसार ७ करोड रुपैयाँको लागतको डीपीआर तयार गरी पोखरी संरक्षण, बाल उद्यान, टिकट काउन्टर, कर्मचारी आवास गृह, सुविधायुक्त वनभोजस्थल, आकाशे फलामे पुल, प्रवेशद्वार, रोटेपिङ, पानीको फोहरा, सेमीनार हल, नौका बिहार, मन्दिर, बगैंचा, सांस्कृतिक संग्रहालय, ज्येष्ठ नागरिक पार्क, देवीथान, घोड सवारी, जस्ता योजना समेटिएको डीपीआर तयार गरी केन्द्रीयस्तरमा बजेट माग गरिएको वनका अध्यक्ष जगतकुमार राईले जानकारी दिए । त्यस्तै साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाई कोशी प्रदेश विराटनगरबाट रु. ३० लाख ८५हजार छ सय ९० रुपैयाँ, प्रदेशद्वार निर्माणका लागि वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना कोशी प्रदेश बिराटनगरबाट १४ लाख २४ हजार छ सय पाँच रुपैयाँ, बिर्तामोड नगर पालिकाबाट २० लाख र ६ नम्बर वडा कार्यालयबाट १५ लाख अनुदान प्राप्त भई सोही अनुसार कार्य भैरहेको कोषाध्यक्ष गोमा सुवेदीले जानकारी दिइन् । बिर्तामोड मुक्तिचोकबाट २.५ किमि दूरीमा रहेको पर्यापर्यटकीय तथा वनभोज स्थल यही मंसीर ७ गतेबाट सर्वसाधारणको लागि खुला गरिएको कार्यालय सचिव धनसरी राईले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here