आदिवासी रंगशालाको काम पुनः शुरु, स्थानीय खुशी

0
11

उमानाथ भण्डारी

कमल । झापाको कमल–५ पाडाजुंगीमा रहेको आदिवासी रंगशालाको निर्माण कार्य पुनः शुरु भएको छ । रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रम गरी निर्माण कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
निर्माण कार्यको शुभारम्भ रंगशालाका अध्यक्ष समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । निर्माण कार्यको शुभारम्भका क्रममा अध्यक्ष राईले आदिवासी रंगशालाको कामले अब गति लिने विश्वास व्यक्त गरे । उनले यो रंगशाला कमलकै गहना भएकाले यसको विकासमा सवै एक भएर लाग्नुको विकल्प नभएको बताए । उनले भने– आदिवासी रंगशालालाई समयमा नै निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन स्थानीय सरकार गम्भीर छ ।


रंगशालाको अगुवाई स्थानीय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले गरी आएको छ । वि.सं. २०६६ सालमा त्यहाँ बर्षौदेखिको आदिवासी, जनजातिको पितृको चिहान भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीयस्तरमा सहमति भएको थियो । तर, पछिल्ला केही बर्षदेखि रंगशालाको नाममा विवाद आएपछि सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो । रंगशाला निर्माण समितिका महासचिव दीपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत यस वर्ष रु. १ करोड रुपैयाँ बजेट प्राप्त भएको र सोही बजेट अनुसार रंगशालाको काम थालिएको हो । बजेटमध्ये डीपीआर अनुसारको उपभोक्तामार्फत रंगशालाको प्रारिम्भक चरणका थप कामहरु शुरु भएको हो ।
यसवर्ष रंगशाला निर्माणका लागि परिषद्को रु. ७६ लाख ९२ हजार ६ सय ९२ रुपैयाँ र उपभोक्ताको रु. ८ लाख ५४ हजार ६ सय ९२ रुपैयाँ गरी कूल रु. ८५ लाख ४६ हजार ९ सय २८ रुपैयाँको बजेटबाट ३ सय मिटर लामो कम्पाउण्ड वाल निर्माण गरिने उनले जानकारी दिए । रंगशाला निर्माणको राखेपसं यसअघि नै रंगशाला समितिले सम्झौता गरिसकेको रंगशाला निर्माण उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिले माघ १८बाट शुरु भई २०८२ जेठ १५ गतेभित्रमा योजना अनुसार काम सम्पन्न गर्ने लक्ष्य सम्झौतामा उल्लेख छ । निर्माण कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता समितिले साताको शनिवार स्थानीयलाई श्रमदान गर्ने गरी काम अघि बढाउने उपभोक्ता समितिका अध्यक्ष राईले बताए । उक्त बजेट अनुसारको काम सम्पन्न गर्न रंगशाला समिति तथा सरोकारवालाहरुले महासचिव दीपेनवाला राईको अध्यक्षतामा पाँच सदस्यीय एक निर्माण उपभोक्ता समिति र पालिका अध्यक्ष हुकुमसिंह राईको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

गठित उपभोक्ता समितिको उपाध्यक्ष विष्णुमाया थापा, सचिवमा रवीन गुरुङ, कोषाध्यक्षमा देवेन्द्रराज आङ्देम्बे र सदस्यहरुमा रोशन दाहाल, सुदीप राई र मनकुमारी लिम्बू रहेका छन् । सरकारले रंगशालामा बजेट उपलव्ध नगराउँदा रंगशालाको कामले गति लिन सकेको थिएन । रंगशालाका निर्माणका लागि विभिन्न आर्थिक वर्षमा रु. ४ करोड बढी वजेट विनियोजन भए पनि वजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको कारण रंगशाला ओझेलमा परेको थियो । सो शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कमल–१का वडाअध्यक्ष केदार कटुवाल, २का वडाध्यक्ष अशोक सुब्बा, ५का वडाध्यक्ष एलवी विष्ट, ६का वडाध्यक्ष नरेन्द्र भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, रंगशालाका पूर्व महासचिव धिरेन लावती, गाउँपालिकाका इञ्जिनियर सागर यादव, कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, कमल कांग्रेसका सभापति खगेन भण्डारी, नेफिन कमलका अध्यक्ष बद्री राईसहित रंगशाला समितिका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here