नेकपा एमाले झापा जिल्ला अधिवेशन २०८१ बैशाख १४–१५ मा गरिने

0
12

झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सोसहित केही महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले बताउनु भएको छ ।

हिजो मंगलबार शिवसताक्षीको झिलझिलेमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बैठकको उद्घाटन गर्नुभएको थियो । बैठकमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै उहाँले जिल्ला कमिटी र मातहतका सबै कमिटीहरु, जनसंगठन, जनवर्गीय संगठनहरु चुस्त दुरुस्त एवम् व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराउनु भएको थियो ।

आजको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जनप्रतिनिधिहरुले देखिने किसिमका गर्वगर्न योग्य कामहरु गर्नुपर्ने औंल्याउँदै वितेको ३५–४० प्रतिशत समयावधिमा के गरियो र अबको बाँकी समयमा के के गर्ने लक्ष्य र योजना छ, समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले जिल्ला कमिटीको अधिवेशन पछिमात्र पालिका कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने गरी ‘अपानि’ आएको स्मरण गराउँदै फागुन महिनामा गर्नेगरी निर्धारण भएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अधिवेशन स्थगित गर्न निर्देशन दिनुभयो ।

बैठकमा पालिका इन्चार्जहरुले रिपोर्टिङ गर्दा पालिका कमिटी र पालिका सरकारबीच समन्वय हुन नसकेको, निर्वाचनका बेला तयार पारिएको घोषणापत्र कार्यान्वयनमा चासो नदेखाएको, दीर्घकालीन महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीसँग समन्वय नगरेको जस्ता विषय उठान गर्नु भएकाले स्थायी कमिटी सदस्य खरेलले तत्कालै सम्बन्धित पालिका कमिटीको बैठक बोलाएर समन्वय सुरु गर्न निर्देशन पनि गर्नुभयो ।

पार्टीका कतिपय पुराना सदस्यहरुले सदस्यता नविकरण नगरेको विषयमाथि चर्चा गर्दै नेता खरेलले समग्र राष्ट्रिय राजनीतिको असर हो कि पार्टीप्रति वितृष्णा बढेको हो भन्ने मसिनो गरी खोजीनीति गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकको अध्यक्षता गरिरहनु भएका जिल्लाका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले पालिका इन्चार्जहरुले प्रस्तुत गर्नुभएको सांगठानिक विवरणहरु तथा निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरुले प्रस्तुत गर्नुभएको राजनीतिक विश्लेषणलाई टिपोट कमिटीले आगामी बैठकमा रिपोर्ट बनाएर प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

उहाँले २०८० चैत मसान्तसम्मका पार्टी सदस्य नै आगामी जेठ मसान्तसम्म कायम रहने भएकाले सबै अधिवेशनमा सहभागी हुन पाउने माथिल्लो कमिटीले निर्णय गरेको सो बैठकमा जनाउनु भयो ।

उहाँले आगामी फागुन १० गतेभित्र पालिका कमिटीको बैठक आफ्नो भूगोलका नेता नेतृत्व समेतलाई आमन्त्रण गरी सुझाव सल्लाह पनि लिने गरी आयोजना गर्न निर्देशन पनि दिनुभयो ।

बैठकमा कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले झापाको राजनीतिक निर्णयले पूर्वका १४ वटै जिल्लालाई प्रभाव पार्ने गरेको बताउनु भयो । पालिका इन्चार्जदेखि क्षेत्रीय संयोजकहरु सबैको रिपोटिङ सुन्दा झापाको पार्टी कामले निरन्तर गति लिएको देखाउँछ भन्दै जनवर्गीय संगठनहरुको सक्रियता बढाउन सुझाव दिनुभयो ।

‘अन्य जिल्लाहरुमा पार्टी कमिटी र स्थानीय तहका जनप्रतिनिधिहरु बीच कामको तालमेल नमिलेको चर्चा हुने गरे पनि झापामा यस्तो कुरा कममात्रामा उठ्नुले पार्टी लयमा छ भन्ने जनाउँछ’ प्रदेश सचिव भण्डारीको भनाई थियो ।

बैठकमा जेठ १५ गतेसम्ममा पालिका कमिटीको अधिवेशन गर्ने र जेठ मसान्त सम्ममा वडा कमिटी अधिवेशन गर्ने तालिका बनाउन मातहत कमिटीलाई निर्देशन दिने निर्णय भएको जिल्ला कमिटीका सचिव शिव ढुङ्गेलले जानकारी दिनुभएको छ ।
बैठकमा कार्यालय सचिव छबिलाल विश्वकर्माले गत असार मसान्तसम्म जिल्ला पार्टी कार्यालयले गरेको आय र ब्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here