चौतारो भत्काएको भन्दै ज्येष्ठ नागरिक आन्दोलित

0
10

झापा ।

कनकाई नगरपालिकाले सुरुङ्गा बजारमा रहेको ज्येष्ठ नागरिक चौतारो भत्काएको भन्दै त्यहाँका ज्येष्ठ नागरिक आन्दोलित भएका छन् । ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्नुपर्नेमा स्थानीय सरकार आफैं लागेर ज्येष्ठ नागरिक बस्ने चौतारो भत्काएको भन्दै कनकाईका ज्येष्ठ नागरिकले बिरोध जनाएका हुन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा नम्वर ३का वडाध्यक्ष युवराज चम्लागाँई, बजार व्यवस्थापन समिति अध्यक्ष मनोहरि बिमली, स्थानीय डिल्ली उप्रेती र राजेन्द्र उप्रेती समेतको अगुवाईमा ज्येष्ठ नागरिक चौतारो भत्काइएको मेची महाकाली पैदलयात्री हरिप्रसाद तिम्सिनाले बताए । राज्यले दिएको भत्ताबाट ज्येष्ठ नागरिक चौतारो तयार गरेका थियौं तर कनकाई नगरपालिकाले भत्काइदियो– उनले भने– जनप्रतिनिधि नै अराजकशैलीमा निस्किएर हाम्रो चौतारो भत्काइदिए ।

राज्यले हामीलाई सम्मान गर्नु पर्ने ठाउँमा कनकाई नगरपालिकले हामीलाई दुःख दियो, अब हाम्रो बस्ने ठाउँ नै हरायो– उनले भने– हामीले ब्यक्तिको सम्पत्तिमा आँखा लाएका थिएनौं, राज्यको सम्पत्तिमा बस्ने छाप्रो मात्रै त बनाएका थियौं नि । त्यो पनि नगरले भत्काएपछि हामीलाई नगरले कहाँसम्मको न्याय गरेको छ– उनले प्रतिप्रश्न गरे । ‘ज्येष्ठ नागरिक चौतारो निर्माणका विषयमा वडाध्यक्ष र नगरप्रमुखलाई समेत हामीले जानकारी गराएका थियौं’ तिम्सिनाले भने– हामीले चौतारो निर्माण गरिनसकुञ्जेल नगर चुप लागेर बस्ने अनि चौतारो तयार भएपछि डोजर लगाएर भत्काउनु भनेको हामीमाथि अन्यायपूर्ण व्यवहार गरिनु हो ।

ज्येष्ठ नागरिक चौतारा निर्माणका विषयमा कनकाई नगरपालिका सहित प्रदेश सरकारलाई समेत जानकारी गराएको र प्रदेश सरकारले समेत रकम प्रदान गर्ने भनिरहेको समयमा नगरपालिकाले डोजर लगाएर चौतारो भत्काएको स्थानीय खड्गप्रसाद प्रसाईको भनाइ छ । प्रदेश सरकारले नगरसँग चौतारा निर्माणका लागि इस्टीमेट तयार गरेर ल्याउनु भनेको थियो– प्रसाईले भने– नगरपालिकाले हामीलाई सहयोग गर्नुको सट्टा उल्टै हामीमाथि अन्याय ग¥यो ।

कनकाई–३स्थित बजार दक्षिण पिपलको रुखसँगै ज्येष्ठ नागरिकले चौतारो निर्माण गरेको तर नगरपालिकाले २४ घण्टे सूचना जारी गर्दै ज्येष्ठ नागरिकलाई हटाएको स्थानीय हरिभक्त संग्रौलाले बताए । उनले भने– सार्वजनिक जग्गा खाली गराउने नाममा ज्येष्ठ नागरिकमाथि नगरले अन्याय गरेको छ । यहाँ तयार पारिएको चौतारोमा यस क्षेत्रका वृद्ध वृद्धा दिनभरि बसेर भलाकुसारी गर्दै आएका थिए । तर, नगरले ज्येष्ठ नागरिक चौतारोमा होइन हाम्रो मन मस्तिष्कमा डोजर चलायो ।

सार्वजनिक जमिन खाली गराउन नगरले चालेको कदम स्वागतयोग्य छ– उनले भने– तर ज्येष्ठ नागरिक चौतारो मात्रै खाली गराउने हो कि यहाँका बलिया र धनीमानीले हडपेको सार्वजनिक सम्पत्ति पनि खाली गराउने हो, त्यो भने हेर्न बाँकी छ । यदि कानून कार्यान्वयन गराउने नाममा ज्येष्ठ नागरिकलाई मात्रै अन्याय गरेको पाए आफूहरु सडक संघर्षमा उत्रने उनको चेतावनी छ । त्यस्तै कनकाई–२ सुकेडाँगीका टंक खनालले वृद्धवृद्धाले एक÷एक रुपैयाँ जम्मा गरेर निर्माण गरेको टहरा भत्काएर नगरपालिकलो वृद्धवृद्धामाथि ठूलो अन्यायपूर्ण व्यवहार गरेको बताएका छन् । वडा र नगर लागेर आफूहरुमाथि अन्यायपूर्ण व्यवहार गर्दा समेत ज्येष्ठ नागरिक निरीह बन्नुपरेको अवस्था छ– उनले भने – कनकाई नगरको यस्तो व्यवहारले यहाँका ज्येष्ठ नागरिक सुरक्षित हुन सक्दैनन् । राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गरिरहेको अवस्थामा स्थानीय सरकार भने ज्येष्ठ नागरिकलाई दुःख दिएर कसैको उक्साहटमा किन रमाइरहेको छ ?– उनले प्रतिप्रश्न गरे ।

यता कनकाई नगरपालिकामा रहेको ज्येष्ठ नागरिक संघले भने विज्ञप्ति जारी गर्दै नगरको कार्यलाई अवरोध हुने गरी कुनै कार्य नगर्न भनेको छ । संघका नगर अध्यक्ष शम्भुप्रसाद पोखरेल र सचिव कृष्णप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा सुरुङ्गास्थित पाथीभरा चौतारी दक्षिणतर्फ ज्येष्ठ नागरिकको नाममा अव्यवस्थित तरिकाले टिनको टहरा निर्माण गर्ने प्रयास भएको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

जारी विज्ञप्तिमा टहरा निर्माणका विषयमा संघको कुनै पनि संलग्नता, सहयोग साथै सहकार्य समेत नरहेको भनिएको छ । ज्येष्ठ नागरिकका नाममा भइरहेको गतिविधिप्रति स्थानीय सरकार र आम जनसमुदायबाट ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको धारणाप्रति सर्वत्र चासो बढेको अवस्थामा यो समस्या समाधानका लागि आपसी छलफल र संवाद गर्नुपर्ने देखिएको छ– विज्ञप्तिमा भनिएको छ । यता ज्येष्ठ नागरिक चौतारो निर्माणका लागि आफूहरुको एक लाख ५० हजार रुपैयाँ खर्च भएको र चौतारो निर्माण कार्य पूर्ण रुपमा नसक्दै नगरले टहरा भत्काएर आफूहरुलाई अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको आरोप छ ।

ज्येष्ठ नागरिकले बालहठ गर्नुहुन्नः मेयर पोखरेल

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईका ज्येष्ठ नागरिकलाई बालहठ त्याग्न आग्रह गरेका छन् । सँधै हामी ज्येष्ठ नागरिकलाई सम्मान गर्छाैं– नगर प्रमुख पोखरेलले भने– सुरुङ्गा बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरी ज्येष्ठ नागरिकले बनाएको टहरा हामीले हटाएकै हो तर, त्यस ठाउँमा नगरले विस्तृत गुरु योजना तयार गरी आधुनिक र सुविधासम्पन्न ज्येष्ठ नागरिक बस्न मिल्ने पार्क तयार गर्न लागेका छौं ।

ज्येष्ठ नागरिकसंग पटक–पटक छलफल र सम्वाद भए पनि उहाँहरुले वालहठ देखाएकाले नगरले बल प्रयोग गरेको हो ।

बजारको बीचमा छाप्रो बनाउनुभन्दा पार्केटिङ गर्दै यो क्षेत्रलाई व्यवस्थित बनाउन र ज्येष्ठ नागरिकलाई रमाउने थलोका रुपमा यो ठाउँको विकास गर्न म आफैं लागेको छु– नगर प्रमुख पोखरेलले भने तर यहाँका केही मानिसको उक्साहटमा लागेर ज्येष्ठ नागरिकले बालहठ देखाउनुभयो । यो हामी कसैका लागि राम्रो विषय होइन ।

नगर प्रमुख पोखरेलले त्यस क्षेत्रमा ज्येष्ठ नागरिकका लागि बस्ने ठाउँ, शौचालय, गार्डेन, चिया नास्ता खाने ठाउँ, खानेपानी सहितको आधुनिक र सुविधा सम्पन्न पार्क बनाउन लागेको बताए । नगरप्रमुख पोखरेलले कनकाई नगरपालिकाले त्यहाँका वृद्धवृद्धा मात्र होइन सबै नगरका वृद्धवृद्धाका लागि सुविधासम्पन्न ज्येष्ठ नागरिक भवन निर्माण गरिरहेको र सबैलाई सम्मानजनक रुपमा हेरेको बताए । उनले नगरले गर्न लागेको विकासका कामलाई रोक्नुको सट्टा सहयोग पु¥याउन समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here