गौरीगञ्जमा बसपार्क

0
10

दमक।

झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिव छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया शुरु भएको छ ।

बजारको दक्षिणतर्फ करिब १५ कठ्ठा जग्गामा बसपार्क बनाउन सघन शहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’ मार्फत रु. ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । करिब रु. आठ करोडको लागतमा निर्माण हुने बसपार्कको डिपीआर अनुसार पहिलो चरणमा बसपार्कको काउन्टर भवनको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिलान्यास गरिन् ।

जिल्लाकै पुरानो बजार मानिने गौरीगञ्ज बजारमा वर्षाैंदेखि आधुनिक बसपार्कको आवश्यकता पूरा हुन सकेको थिएन । स्थानीय स्रोतसाधन र प्रदेश तथा केन्द्रको बजेटबाट प्रारम्भिक कार्यमा डीपीआर बनेको थियो । वि.सं. २०१८ तिर तत्कालीन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिँदै आएको र सोही स्थानमा बसपार्क निर्माण शुरु गरिएको अध्यक्ष राजवंशीले बताइन् ।

टहरा, शौचालयसहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने वडा नं. ६ का वडाध्यक्ष बद्रीनारायण यादवले बताए । गौरीगञ्जबाट दैनिकरुपमा काठमाडौँलगायत पूर्वका विभिन्न स्थानमा पुग्ने लामो तथा छोटो दूरीमा सञ्चालन हुँदै आएका बस व्यवस्थित बसपार्क नहँुदा सडक किनारमा पार्किङ गर्न बाध्यता रहेको वडाध्यक्ष यादवले बताए ।

स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ शहर स्थापनाको योजनामा गौरीगञ्ज समेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोन्नति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगञ्ज यो प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित हुने विश्वास गरिएको अध्यक्ष राजवंशी बताउँछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here