सूर्योदयको उदाहरणीय कार्य

0
11

नेपालका पहाडी तथा ग्रामीण बस्तीहरुमा जनसंख्या कम हुँदै गएका समय पूर्वी नेपालको इलामस्थित सूर्योदय नगरपालिकाले फरक किसिमको कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसो त इलाम जिल्लाका दश वटा नगरपालिकामध्ये सूर्योदय अन्य धेरै कुराहरुमा अरु पालिकाभन्दा भिन्न छ । त्यसमा पनि विकासका पूर्वाधारहरु मध्येको पहिलो र महŒवपूर्ण आधार शिक्षाको विकासमा सूर्योदय नगरपलिकाको कार्यक्रम उदाहरणीय समेत रहेको छ । नगरपालिकाले आफ्नो भूगोलभित्रका छोरी–बुहारी लक्षित निःशुल्क शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । विवाहपछि छोरी–बुहारी हुने र उनीहरु घरधन्दामै अलमलिनु परेको अवस्थालाई अन्त्य गर्न सञ्चालन गरेको कार्यक्रमबाट अहिलेसम्ममा झण्डै दुई सय जनाले लाभ लिएको पालिकाले जनाएको छ । ती मध्ये सत्ताइस जनाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् ।

विश्वबिख्यात सम्राट नेपालियनले भनेको एउटा भनाइ आज पनि सान्दर्भिक छ । उनले भनेका थिए– तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु । यो भनाइले पनि प्रमाणित गर्छ कि परिवार, समाज र राष्ट्रको उन्नतिमा महिलाको कस्तो भूमिका रहन्छ । महिलाको छिट्टै विवाह गर्ने र घरको काममै अलमलिनुपर्ने परम्परागत संस्कारको अन्त्य गर्न सूर्योदयले– ‘नगरको इच्छा बुहारीलाई शिक्षा, नगरको इच्छा छोरीलाई शिक्षा’ भन्ने मूल नाराका साथ शतप्रतिशत छात्रवृत्तिमा स्थानीय करफोक विद्या मन्दिरमा चार वर्षदेखि पढाइरहेको छ । बर्सेनि चालीस जना छोरी–बुहारी नगरपालिकाको छात्रवृत्ति अन्तर्गत निःशुल्क अध्ययन गर्दैछन् । स्नातक उत्तीर्ण महिलालाई नगरले उनीहरुको विषयका आधारमा रोजगार पनि दिने व्यवस्था गरेको छ ।

नगर प्रमुख रणबहादुर राईले नारीलाई राम्रो शिक्षा नदिएसम्म सभ्य समाज निर्माण नहुने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । हुन पनि शिक्षित नारी असल नारी हुन सक्छन् । जसले आफ्नो सन्तानको यथोचित हेरचाह गर्न सक्छन् र व्यक्तित्व निर्माणमा पनि योगदान दिन सक्छन् । त्यसैले सूर्योदयले सञ्चालन गरेको यो कार्यक्रमबाट बुहारीहरुले लाभ लिन सक्नु पर्दछ । पैसा तथा व्यवहारिक कारणले अध्ययन पूरा गर्न नपाएका छात्राहरुका लागि वरदान सरहको यो कार्यक्रमले बसाइँसराइको क्रमलाई पनि रोक्न सक्यो भने अझै उत्कृष्ट कार्य ठहरिने छ । त्यसका लागि छोरी–बुहारीले अझै जागरुक हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here