केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग

0
5

काठमाण्डौं ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो ।महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रुपमा नेपाल भित्र नभित्र्ने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरुको अर्बौं रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो ।महासंघले व्यवसायीहरुलाई सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।

महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरु मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताउनुभयो । उहाँले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरु आफँै जान नपाउँदा व्यवसायीहरु समस्यामा रहेको बताउनुभयो ।

अध्यक्ष कार्कीले चीनबाट आयात हुने सामानहरु नाकामा फुट्ने,लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरु नाका पारी जान नपाउने बताउनुभयो । उहाँले समान ढुवानी गर्न,ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय सवारी साधन लैजानुपर्ने एकाधिकार हटाउन माग गृहमन्त्रीसँग गरिएको उल्लेख गर्नुभयो । उहाँले चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । अध्यक्ष कार्कीले गृहमन्त्रीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो ।

महासंघ उपाध्यक्ष लक्ष्मी खड्काले काठमाडौंमा व्यापार व्यवसाय गरिरहेका ७५ जिल्लाका व्यवसायीहरुले चीनबाट आयात गरेका सामान नाकामा उपस्थित भएर ल्याउनको लागि समस्या भएको बताउनुभयो । उहाँले सरकारले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गरी नाका पारी जान पाउने व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरिएको बताउनुभयो ।

उपाध्यक्ष खड्काले चीनबाट अर्बौं रुपैया लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताउनुभयो । उहाँले गृहमन्त्रीले व्यवसायीहरुको मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकाले सरकारले माग सम्बोधन गर्ने अपेक्षा रहेको बताउनुभयो ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीहरुले मात्रै नाकापारी जान पाउने व्यवस्था रहेको भन्दै त्यसलाई अन्य व्यवसायीहरुलाई पनि अस्थायी पासको व्यवस्था गरी आवतजावत गर्न माग गरिएको बताउनुभयो । उहाँले चीनबाट आयात गरिएको सामान व्यवसायीहरुले हेर्न र लिन जान नपाएको बताउनुभयो । उहाँले २०१६ सालमा चीनसँग भएको पारवहन सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

व्यवसायीहरुले चीन नाकामा रहेका भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले भन्सारमा सहज बनाउन र नाकामा सामान सहज रुपमा नेपालमा ल्याउने व्यवस्था गर्न बारम्बार ध्यानाकर्षण गर्दा समेत नभएको बताएका छन् । उनीहरुले रसुवा नाकामा सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका छन् । ईमेज खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here