नवदुर्गामा आविमा तीन वटा अक्षयकोष स्थापना गर्ने घोषणा

0
11

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालयमा सोमबार एक कार्यक्रमकोबिच तीन वटा अक्षयकोष स्थापना गर्नेे घोषणा भएको छ ।

विद्यालयको ४०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा हाल काठमाण्डौं निवासी नेपाल प्रहरीका पूर्व डिआईजी माधव थापा, विद्यालयका प्रधानाध्यापक अर्जुनधारा–७ निवासी रुद्रप्रसाद+राधा खतिवडा दम्पत्तीबाट र अर्जुनधारा–५ निवासी सामाजिक व्यक्तित्व केदारनाथ पराजुलीबाट अक्षयकोष स्थापना गर्ने घोषणा भएको हो ।

दाताहरु पूर्व डिआईजी थापाले आमा पदमकुमारी थापाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको, खतिवडा दम्पत्तीले बुवा गंगाप्रसाद खतिवडाको स्मृतिमा ५५ हजार पाँच सय ५५ रुपैयाँ बराबरको र दाता पराजुलीले ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने भएको हो ।

सोही वार्षिकोत्सवको अवसरमा खतिवडा दम्पत्तीले अक्षयकोषको रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर पौडेललाई हस्तान्तरण गरेका थिए । घोषणा भएका सबै अक्षयकोष सञ्चालनको लागि आवश्यक कार्यविधिलगायत अन्य प्रक्रियाहरु तत्काल शुरु गरिने प्रधानाध्यापक खतिवडाले दावी गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

प्रधानाध्यापक खतिवडाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सम्मान कार्यक्रम, विद्यार्थीहरुद्वारा पिटी प्रदर्शन, मार्चपास, नृत्य आदि प्रस्तुत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जग्गादाता छत्रबहादुर थापा(मरणोपरान्त), पूर्व शिक्षकद्वय राजेन्द्रकुमार कार्की र सोमप्रसाद पौडेल, दाता विनोद खाती रहेका छन् ।

त्यसैगरी दिर्घ सेवा शिक्षक सम्मानबाट शिक्षक हरिप्रसाद पाठक र वर्ष उत्कृष्ट शिक्षक सम्मानबाट बाल शिक्षा शिक्षक कल्पना राजवंशी रहेका छन् । त्यस्तै विद्यार्थीतर्फ विद्यालय प्रथम छात्र राजिव थापा र छात्रा रोमिला कुँवर, अनुशासनतर्फ छात्र अमर पौडेल र छात्रा समिक्षा दनुवार, अतिरिक्त क्रियाक्लापतर्फ छात्रद्वय निशान श्रेष्ठ र संगम खाती तथा छात्रातर्फ रुविका कट्टेल, सरसफाईतर्फ छात्र कल्साङ तामाङ र छात्रा दिक्षा धमला तथा नियमित हाजिरीतर्फ छात्र जलु खतिवडा र छात्रा रिकेश सुनाम पुरस्कृत भएका छन् ।

कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन कोशी प्रदेशका महासचिव कपिलदेव तिम्सिना, सामाजिक व्यक्तित्व केदारनाथ पराजुली, पूर्व शिक्षक लीलाधर खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिक्षकतर्फ माया गौतमले र विद्यार्थीतर्फ समिक्षा दनुवारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक तोयानाथ ओलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here