व्यापार घाटा कम गर

0
6

चालू आर्थिक वर्षको शुरुको सात महिनाको अवधिमा देशले आठ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार देशले उक्त अवधिमा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको हो । यस अवधिमा नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु मात्र निर्यात गरेको छ । नेपालको निर्यात प्रकृतिको तुलना गर्दा अघिल्लो आर्थिक वर्षको त्यही अवधिको भन्दा यो वर्ष दुई दशमलब ३१ प्रशितले आयात र सात दशमलब ०७ प्रतिशतले निर्यात घटेको छ ।

आयातको तुलनामा निर्यात कम भएका कारण हाम्रो अन्तर्राष्ट्रिय व्यापार सधैँ असन्तुलित रहँदै आएको छ । त्यहीकारण समृद्धि र दिगो विकास जस्ता नारा व्यवहारमा लागू हुन सकिरहेको छैन । बहुदलीय प्रजातन्त्रको आरम्भ भएदेखि नै नेपालको आर्थिक वृद्धिदर कम रहेको छ । पछिल्लो समय आर्थिक वृद्धि कम हुनमा वैश्विक महामारी कोभिडको प्रभावलाई मानियो । तर, त्यो नै सम्पूर्ण कारण होइन, किनकि व्यापार घाटा र आर्थिक वृद्धिदरको अवस्था तुलनात्मक रुपमा राम्रो देखिएकै छैन । निरन्तरको यस्तो व्यापार घाटाले बाह्यस्थितिलाई अस्थिर र धान्नै नसक्ने बनाउँछ, ऋणको भार झनै बढाउँछ र अन्ततः देश आर्थिक रुपले कमजोर बन्न पुग्छ ।

व्यापार घाटालाई सन्तुलित राख्न आयातलाई नियन्त्रण गर्नैपर्छ । यसको अर्थ उपलब्ध नहुने तर आवश्यक वस्तुको आयातमा रोक लगाउनु भने हुन सक्दैन । यसका लागि अनावश्यक वस्तुको आयात रोकेर देशमै उत्पादन हुन सक्ने कृषि वस्तुको उत्पादनमा जोड दिनु पर्दछ । त्यस्तै सरकारको नीतिका कारण बन्द भएका उद्योगहरु सञ्चालन गर्ने र तिनलाई संरक्षण गर्ने राज्यको नीति हुनु पर्दछ । पर्यटन, जलविद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेर पनि घाटा पूर्ति गर्न सकिन्छ । त्यसमा पनि जलविद्युत्मा लगानी भित्र्याएर विद्युत् उत्पादन तथा बिक्रीबाट लाभ लिन सकिन्छ । त्यस्तै पर्यटकको आगमन बढाउने कार्यक्रम ल्याएर घाटा कम गर्न सकिन्छ । यसका लागि सरकारको गम्भीर चासो र त्यसै अनुसारको नीति, कार्यक्रम र कार्यान्वयन चाहिन्छ । अन्यथा निरन्तरको व्यापार घाटाले नेपालको पहिचान मेटिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here