गठबन्धनमा विश्वासको संकटः पाँचदलका उम्मेदवार पाँचतिर

0
17

झापा।

बिर्तामोड उद्योग वाणिज्य संघको गत निर्वाचनमा चार दलको गठबन्धन थियो । संयुक्त व्यवसायीको प्यानल भनेर नाम दिइएको त्यस प्यानलमा नेकपा एमाले , राप्रपा , माओवादी र मधेसी दल संलग्न थिए ।

यस पटक स्वतन्त्र व्यवसायीको प्यानल भनिएको एमाले नेतृत्वको प्यानलमा चार दलमा एक थपिएर पाँच दल भएका छन् । त्यस प्यानलमा ती दलहरुसंग राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिएको हो । अघिपछि नमिल्ने तर, निर्वाचनका बेला जवर्जस्ती मिलाउन खोजिएपनि उनीहरुको चुनावी एजेन्डा र भावना मिल्न सकेको छैन । जति धेरै दलको चुनावी गठबन्धन बनाइन्छ ,त्यति नै समस्या हुने गरेको बिर्तामोड उद्योग वाणिज्य संघको विगतको निर्वाचनले देखाएको छ ।

अविश्वासको संकटले घेरिएको गठबन्धनभित्र गत निर्वाचनमा एक अर्कालाई अन्तर्घात गरेको पाइयो । जुन समस्या यस पटक अझ बढी देखिएको छ । गत निर्वाचनमा प्यानलको नेतृत्व गरेको एमालेका तर्फबाट महासचिवमा अर्जुनकुमार मैनालीले १८४३ मत ल्याएर विजयी हासिल गरिरहँदा सोही प्यानलका उद्योग सचिवका उम्मेदवार धनबहादुर डाँगीले मात्र १०६३ मत पाए ।

माओवादीका तर्फबाट उम्मेदवारी दिएका डाँगीको त्यस शर्मनाक हारमा गठबन्धनभित्र व्यापक अन्तर्घात भएको निर्वाचनपछि माओवादी पार्टीले ठहर गरेको थियो । सो निर्वाचनमा त्यस गठबन्धनका तर्फबाट वाणिज्य सचिवमा राप्रपाका कृष्ण पौडेल तथा सदस्यहरुमा एमालेका गुन्जन प्रसाई र रुचि शिवाकोटीले जित्दै गर्दा अरु सबैले हार बेहोर्नुपर्यो । यस पटक चुनावी गठबन्धन बन्दादेखि नै पदको भागवन्डामा समस्या देखियो । खासै मतदाता नभएपनि पदका लागि ती दलहरुमा बार्गेनिङ चलेपछि कार्यदललाई मिलाउन निकै समस्या परेको कार्यदलका एक सदस्यले बताए ।

पाँच दल भनिएपनि जनता समाजवादी पार्टीले उम्मेदवारी नै दिन पाएन भने वाणिज्य उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणाका दिनसम्म निकै रस्साकस्सी नै चल्यो । वाणिज्य उपाध्यक्ष दावी गरेका एमालेका बलबहादुर लिम्बु (बिशन) ले सो पद नपाएपछि उनी रुष्ट भए ।

उम्मेदवारी घोषणा कार्यक्रममा उद्योग सचिवको उम्मेदवारका रुपमा उनको नाम घोषणा गरिरहँदा उनी आएनन् । निकै सम्झाई बुझाई गरेपछि अन्तिम समयमा मंचमा आएर उनले फूलमाला र अबिर लगाएका थिए ।

माओवादी केन्द्रका ओमप्रकाश श्रेष्ठलाई वाणिज्य उपाध्यक्ष पद दिएपछि उनी रुष्ट बनेका हुन् । त्यसो त सो पदका लागि माओवादीले पनि निकै दबाब दिनुपर्यो । कार्यदलले सो पद राप्रपाका गंगाप्रसाद मैनालीलाई दिएको थियो । माओवादीको चर्को दबाबपछि राप्रपाका मैनालीलाई उद्योग उपाध्यक्ष पद दिएर कार्यदलले वाणिज्य उपाध्यक्ष श्रेष्ठलाई दिएको थियो ।

स्वतन्त्र व्यवसायीको प्यानलका पाँच दलीय उम्मेदवार र मतदाताहरु पाँचतिर फर्किएका छन् । चुनावी घरदैलो कार्यक्रममा पनि उनीहरु संयुक्त रुपमा भोट माग्न नगएको बताइएको छ । आ–आफ्नो दलका उम्मेदवारहरुलाई कसरी जिताउन सकिन्छ भनेर उनीहरु लागेको पाइएको छ । प्यानलको नेतृत्व गरेको एमालेले जसरी भएपनि अध्यक्षमा मात्र अर्जुनकुमार मैनालीलाई जिताउने भित्री योजना बनाएपछि अन्य दल र उम्मेदवारहरु सशंकित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here