राममणि क्याम्पसको नवनिर्मित भवन हस्तान्तरण, भारतकाे सहयोग निरन्तर रहने : राजदुत

0
5

काठमाण्डौ,

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले तिलोत्तमा नगरपालिकाको मणिग्राममा निर्मित क्याम्पस भवन हस्तान्तरण गरेका छन् ।

राममणी बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव समारोहमा राजदूत श्रीवास्तवले भारतीय राजदुतावासद्वारा निर्मित उक्त भवन क्याम्पस सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा बोल्दै राजदुत श्रीवास्तवले सरकार परिवर्तन भईरहेपनि नेपाल र भारतको सम्बन्ध र सहयोग आदानप्रदान भने युगौंयुग सम्म रहिरहने बताए ।

नेपाल भारतका लागि छिमेकी राष्ट्रमात्र नभएर असल मित्र समेत रहेको उल्लेख गर्दै राजदुत श्रीवास्तवले भारत र नेपालको सम्बन्ध दुईदेशका सरकारका बिचमा मात्र नभएर धार्मिक एवं सामाजिक रुपमा पनि बलियो रहेको बताए ।

उनले लुम्बिनी मार्फत नेपालको विकास सम्भव रहेको बताउँदै गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकहरुलाई आकर्षित गर्न सके लुम्बिनीको मात्र नभई सिंगो नेपालकै आर्थिक विकास हुनसक्ने बताए ।

राजदुत श्रीवास्तवले लुम्बिनीमा पछिल्लो समय भारतीय धार्मिक पर्यटकहरुको संख्या बढ्दै गएको बताए । लुम्बिनी आउने पर्यटकहरुलाई नेपालका अन्य धार्मिक स्थलहरुको अवलोकनको लागि लैजान सके पर्यटन मार्फत नेपालको आर्थिक विकास हुने उनले बताए ।
राजदुत श्रीवास्तवले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत समग्र क्षेत्रका विकासमा सहकार्य गर्दै आएको बताए ।

‘नेपालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत क्षेत्रको विकास हुन सके नेपाल र भारतको सम्बन्ध अझै मजबुत बन्न सक्छ,’ ‘यस्ता क्षेत्रहरुको विकासमा भारत सरकार सहयोगको लागि सदैव तयार छ,’ उनले भने ।

राजदुत श्रीवास्तवले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजदुत बनाउन भारत सरकारले समुदाय विकास कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताए ।

सन् २००३ देखि भारत सरकारले नेपालका लागि अगाडी सारेको समुदाय विकास कार्यक्रम मार्फत हालसम्म ५५० वटा विद्यालय भवन निर्माण भईसकेको बताए । लुम्बिनी प्रदेशमा मात्र ६१ र रुपन्देहीका १२ वटा विद्यालय भवन निर्माणमा राजदुतावास मार्फत भारत सरकारले आर्थिक अनुदान उपलब्ध गराएको उनले बताए ।

भारत सरकार नेपालको विकासमा कसरी सहभागी भएर सहयोग गर्न सकिन्छ भन्नेमा सधै रहन्छ, नेपालका विभिन्न ईकाईहरु स्थानीय तह र जिल्ला समन्वय समितिसँगको समन्वयमा ५५० वटा विद्यालय भवन निर्माण भईसकेका छन् भने ९५० वटा एम्बुलेन्स र २५० वटा स्कुल बस उपलब्ध गराईसकेको छ,’ उनले भने ।

राजदुत श्रीवास्तवले यसअघि नेपालका विकास परियोजनामा भारतीय दूतावासले खर्च गर्न सक्ने पाँच करोडको सिमिततालाई बढाएर २० करोड बनाईएको स्मरण गर्दै तिलोत्तमा वा रुपन्देही आसपासमा पनि त्यस्तो नयाँ योजना संचालन गर्ने चाहना रहेको बताए । ‘यसअघि पनि तिलोत्तमा र सिंगो रुपन्देहीभित्र धेरै योजनाहरु सम्पन्न भईसकेका छन्, अब भने रुपन्देहीभित्र कुनै त्यस्तो ठूलो योजना गर्ने ईच्छा छ,’ श्रीवास्तवले भने ।

२०६८ साल माघ ७ गते निर्माण शुरु गरिएको यो भवन २ करोड ४७ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भएपनि भवनको हस्तान्तरण भने लामो समयसम्म हुन सकेको थिएन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सदियौंदेखि सहकार्य गर्दै आएको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिकाको शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा भारत सरकारको सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष धु्रव कुमार धिताल, उपाध्यक्ष कृष्ण प्रसाद पौडेल, क्याम्पसका संरक्षक रोमणी प्रसाद पाठक, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठक, राममणिका उपप्राध्यापक मुक्तिनाथ गैह्रे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा क्याम्पसले प्रकाशन गरेको मुखपत्र दिपिकाको विमोचन सहित क्याम्पसको विकासमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । २०४५ सालमा समुदायबाट संचालन गरिएको यो क्याम्पसमा हाल प्लस टु देखि स्नातकोत्तर सम्मका विभिन्न विषयमा २ हजार ६ सय ८४ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । सिद्धार्थअनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here