सीमा सुरक्षा बलियो बनाऊ

0
6

सीमा क्षेत्रका नेपालीलाई भारतीय सुरक्षा बल एसएसबीले अकारण दुःख दिन थालेको भन्दै स्थानीयले सुरक्षाको माग गरेपछि जिल्ला सुरक्षा समिति सुनसरीले सीमा पैदलयात्रा शुरु गरेको छ । पैदलयात्राका क्रममा स्थानीयसँगको अन्तरक्रियामा सहभागी स्थानीयले केन्द्रीय स्तरबाटै सुरक्षाको व्यवस्था गर्न माग गरेका थिए । एसएसबीका जवानले सीमा क्षेत्रबाट आउजाउ गर्ने नेपालीलाई बिना कारण दुःख दिने, कुटपिट गर्ने जस्ता घटना नयाँ भने होइन । सीमावर्ती क्षेत्रका नेपाली नजिकै भारतीय बजारमा निर्भर छन् । जसका कारण उनीहरुले ओहोर–दोहोर गर्नैपर्छ । नेपाली बजार टाडा हुने र भारतीय बजारमा उपभोग्य वस्तु कम मूल्यमा पाइने कारणले सीमावर्ती क्षेत्रका नेपालीले भारतका बजारको भर पर्र्नु बाध्यता हो ।

भारतको यस्तै हेपाह व्यवहारका कारण सीमा क्षेत्रमा कति अप्रिय घटना पनि हुने गरेका छन् । तीनतिर सीमा जोडिएको नेपाली क्षेत्रमा नेपाली सुरक्षा बलको प्रभावकारी उपस्थिति हुन नसक्दा त्यहाँको सुरक्षा बलले नेपाल प्रवेश गरेर यहाँका स्थानीयलाई समेत कुटपिट गरेको अन्तरक्रियाका सहभागीले बताएका छन् । भारतीय सुरक्षा बलका कारण सास्ती व्यहोर्नु परेका स्थानीयको माग अनुसार जिल्ला सुरक्षा समितिले गरेको पैदलयात्रा तथा अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय सीमा सम्झौताको पनि चर्चा भएको थियो । सीमाको दशगजा क्षेत्रमा कुनै पनि देशले भौतिक संरचना निर्माण तथा प्रयोग गर्न नपाइने सम्झौतामा उल्लेख छ, तर भारतले त्यसको पनि अवज्ञा गरिरहेको छ ।

नेपाली र भारतीय सर्वसाधारणलाई आवागमनमा कुनै प्रकारको रोक लगाइएको छैन । कतिपय ठाउँमा नेपाली भू–भागमा भारतीय र भारतीय भू–भागमा नेपाली क्षेत्र रहेको छ । अझ बसोबास र खेतीपातीका लागि पनि वारिपारि गरिरहनु दुबै देशका स्थानीयको आवश्यकता हो । सीमा क्षेत्रमा भइरहने अवैध गतिविधि, चोरी, तस्करी र आपराधिक गातिविधिले पनि स्थानीयबासी पीडित छन् । यस्तोमा सुनसरीका सीमा क्षेत्रका बासिन्दाको माग अनुरुप जिल्ला सुरक्षा समितिले स्थानीयका कुरा सुन्न, अनुभव र अनुगमन गर्न समन्वयात्मक छलफल गर्न थालेको कार्यक्रम निरन्तर जारी रहनुपर्छ । दुई देशका सुरक्षा अधिकारीका बीच हुने नियमित बैठकमा समस्या राखेर स्थायी समाधान खोज्नुपर्छ । त्यसो हुन सकेन भने बिनाबर्दीका सीमा क्षेत्रका नेपालीको बसाइँ सर्ने क्रम पनि बढेर जान सक्छ । त्यसैले पनि केन्द्रीय सरकारसँग समन्वय गर्दै सीमाक्षेत्रको समस्या समाधान गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here