चिनियाँ को दबाबपछि लुम्बिनीमा हुने नोबेल पुरस्कार विजेता सम्मेलनको अवधि घट्यो

0
7

लुम्बिनी ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मार्च १० देखि १२ (फागुन २७-२९) सम्म हुने भनिएको चौथो इन्टरनेशनल लुरिएट्स एन्ड लिडर्स समिटको समय एक दिन छोट्याइएको छ ।

लुम्बिनी प्रदेश सरकारले तीन दिनका लागि तयारी गरिरहेको बेला एक दिन छोट्याएर कार्यक्रम एक दिन उता सारिएको हो । कार्यक्रमको तयारी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वमा चलिरहेको थियो । त्यसमा आवश्यक संयोजनकारी भूमिकामा परराष्ट्रमन्त्री एनपी साउद थिए ।विश्वका ९० जना नोबेल शान्ति पुरस्कार विजेतासहित विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम तीन दिन हुने भनेर तयारी गरिरहेको बेला समय एक दिन छोट्याउनुपरेको हो । मिति छोट्याउनुको कारण भने चिनियाँ कूटनीतिक दबाब भएको स्रोतले बताएकाे छ ।

त्यसो त चीनले मार्च १० लाई अत्यन्तै संवेदनशीलरूपमा लिने गर्छ । कारण हो, यही दिन तिब्बतीहरूले चीनविरुद्ध विद्रोह थालेका थिए र तिब्बतभर प्रदर्शन भएको थियो । यसलाई चीनबाहिरका तिब्बतीहरूले ‘तिब्बतीयन अपराइजिङ् डे’ का रूपमा मनाउँछन् ।नोबेल पुरस्कार विजेताहरूको लुम्बिनीमा हुने भेलाले नेपालमा पश्चिमा मुलुकको स्वार्थ हाबी हुन मद्दत पुग्ने र तिब्बतीहरूप्रति सहानुभूति जाने विश्लेषण चिनियाँ पक्षले गरेपछि कार्यक्रम एक दिन छोट्याउनु परेको हो ।

एक दिन छोट्याएसँगै कार्यक्रम अब दुई दिने मात्रै अर्थात् मार्च ११ र १२ मा मात्रै हुनेछ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता निराजन घिमिरे पनि यो स्वीकार्छन् । “सुरूमा तीन दिने नै भनिएको थियो । तर, केही कन्फ्यूजनहरू भएपछि फेरि सूचना नै जारी गरेर कार्यक्रम २८ र २९ अर्थात् मार्च ११ र १२ हुने जानकारी गराएका छौँ,” प्रवक्ता घिमिरेले भने, “मार्च १० चाहिँ अराईभलको समय हो । यसमा कन्फ्यूजन नहोस् ।

”स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत छन सोङले यस सम्बन्धमा ‘हाईलेभल’ मा चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग उनले संवाद गरेको उच्च कूटनीतिक स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले सहमति जनाएपछि कार्यक्रम एक दिन पछि सरेर छोटिएको हो ।

नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले यो कार्यक्रमको समन्वय गरिरहेका छन् । आयोजकहरूले दिएको जानकारी अनुसार शान्ति सम्मेलनमा विदेशबाट १०० जना अतिथि आउनेछन् र नेपालका १०० जना सहभागी हुनेछन् ।

आयोजकका अनुसार नोबेल शान्ति पुरस्कार विजेता अब्देसातार बेन मुसा र ओउडेड बोचामाउई (२०१५), भारतका कैलाश सत्यार्थी (२०१४), एरिह वार्शेल (२०१३), नोबेल शान्ति पुरस्कार विजेता लेमाह गोबोवी र तावाक्कोल करमान (२०११), जोडी विलियम्स (१९९७), जोडी विलियम्स (१९९७), होर्टा (१९९६), र रिचर्ड जे रोबर्ट्स (१९९३) नेपाल आउँदैछन् ।

सम्मेलनमा सहभागी हुनका लागि जोर्डनका राजकुमार अली बिन अल हुसेन, अर्थशास्त्री जेफ्री साक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना कास्टिलो गार्सिया डे भारेला, अन्तर्संसदीय सङ्घका महासचिव मार्टिन चुङगोङ र स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफान लोफभेन पनि आउँदैछन् ।

सुरूमा यो सम्मेलनमा तिब्बती धर्मगुरु दलाई लामा आउने हुन् कि भन्नेमा चिनियाँ पक्ष निकै चिन्तित थियो । नोबेल शान्ति पुरस्कार विजेता लामा नआउने निश्चित भएपछि चीनले मार्च १० को कार्यक्रम पछि सार्न दबाब दिएको थियो । यसबारे जानकार एक सरकारी अधिकृतले भन्छन्, “मार्च १० मा कार्यक्रम गर्दा तिब्बतको विषय उठ्यो भने तिब्बतका पक्षमा कुनै प्रदर्शन भयो भने यसको मूल्य नेपाल-चीन सम्बन्धले चुकाउनुपर्ने दबाब आएपछि सरकारले कार्यक्रमको मिति एक दिन पछि सारेको हो । यो निर्णय गरेको एक साताजति भयो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here