सुरक्षाकर्मीको आत्मविश्वास बढाउन ‘साहसिक अभ्यास’

0
8

काठमाडौँ,

सम्भावित खतराको अवस्थामा उद्धार एवं चुनौतीको सामना गर्नका लागि नेपालका सुरक्षा निकायले दक्ष जनशक्ति निर्माणमा ‘साहसिक अभ्यास’ थालेका छन् ।

बढ्दो साहसिक पर्यटनका साथै बाढी, पहिरो तथा भइपरी आउने विपद्जन्य घटना एवं अन्य सुरक्षा चुनौतीलार्ई सामाना गर्नसक्ने गरी जनशक्ति निर्माणमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलागायतले आफ्नो फौज तयार पारिरहेका छन् ।

केही दिनअघि मात्रै सशस्त्र प्रहरी बलले पशुपति बाहिनीले केबलकारमा हुनसक्ने सम्भावित जोखिमको विपद् उद्धार अभ्यास गरी केबलकारमा हुनसक्ने विपद् उद्धारका लागि जनशक्ति तयार पारेको सशस्त्र प्रहरी नायम महानिरीक्षक पुरुषोत्तम थापाले बताउनुभयो ।

सशस्त्रले पानीमा हुने विपद् उद्धारका लागि आवश्यक जनशक्ति निर्माणमा विगतदेखि नै दक्ष जनशक्ति तयार पारिसकेको छ । कुरिनटारमा विपद् व्यवस्थापन तालिम केन्द्र नै छ । नेपाली सेनाले पनि आफ्नो अभ्यास गराउँदै आएको छ ।

नेपाल प्रहरीले विपद् व्यवस्थापन महाशाखा र युक्ति तालिम महाविद्यालयबाट आफ्नो फौजहरु तयार पारिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले महाविद्यालयबाट प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमअन्तर्गत विभिन्न सीप प्रदान भइरहेको छ । सोही क्रममा बञ्जीको साहसिक सीप प्रदान गरी आत्मविश्वासी बनाउन नवौँ समूहका ११४ जना प्रहरी पर्वतको कुस्मास्थित द क्लिफमा पुगेका छन् ।

उनीहरुलाई आजदेखि शनिबार (भोलि)सम्म त्यहाँ सीप प्रदान गरी साहसिक जनशक्ति निर्माण गरिने प्रवक्ता ढकालले बताउनुभयो । क्लिफका अध्यक्ष राजु कार्कीले यस्ता प्रशिक्षणले सुरक्षा खतरा तथा विपद् उद्धारमा सक्षम जनशक्ति तयार हुने बताउनुभयो ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बञ्जीजम्प सञ्चालनमा रहेकाले प्रहरीलाई साहसिक बनाउन त्यहाँ लगिएको प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिनुभयो ।

“कमाण्डो तालिममा धेरै खालको सीप सिकाइन्छ । प्रहरीको यो कडा खालको तालिम पनि हो । आत्मविश्वासी बनाउनका लागि कुनै पनि किसिमको खतरासँग लड्न र विपद् उद्धार एवं भिर, उच्चस्थान र पानीमा कारबाही गर्नसक्ने गरी जनशक्ति तयार पारिने छ”, उहाँले भन्नुभयो ।

यसपछि उनीहरुलाई त्रिशूलीमा वाटर रेस्क्यू र तनहुँमा रक क्लाइम्बिङको अभ्यास पनि गराइने तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रशिक्षण ९० दिनसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here