आजबाट झापा गोल्डकप शुरु हुँदै

0
11

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आजबाट छैठौँ संस्करणको अर्ना झापा गोल्डकप शुरु हुँदैछ ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताका रुपमा हेरिने झापा गोल्डकपको छैठौँ संस्करण आजबाट शुरु भएको हो । फागुन २८ गतेसम्म हुने प्रतियोगितामा ए डिभिजन क्लवका १० वटा टिमले सहभागिता जनाउने झापा गोल्डकपका अध्यक्ष बिनोद वस्नेतले जानकारी दिए ।

बिर्तामोड–३ स्थित बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव र संकटा एफसी मैदानमा उत्रनेछन् । अध्यक्ष बस्नेतले भने – सबै तयारी पूरा भयो, आज दिउँसो १ बजे भव्य उद्घाटनका साथ झापा गोल्डकप शनिवारबाट शुरु हुन्छ । झापा गोल्डकप सफल बनाउन नेपाल तथा विभिन्न देशबाट सहयोग प्राप्त भएको भन्दै उनले सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।

उनले राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय झापाली समाज तथा झापाका विभिन्न संघ–संस्था र नागरिकको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे ।

यो वर्ष झापा गोल्डकपको बिजेता टिमले नगद १३ लाख र उपबिजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा बिजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।

झापा गोल्डकपका अध्यक्ष– विनोद बस्नेत ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने बताइएको छ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको अध्यक्ष बस्नेतले बताए । छैठौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ ।

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ ।

झापा गोल्डकपको उद्घाटन झापा क्षेत्र नम्वर २ का सांसद एवम् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here