झापा गोल्डकपः व्यवस्थापन उत्कृष्ट

0
8

झापा । मोफसलकै सर्वाधिक लोकप्रिय प्रतियोगिताको रुपमा सञ्चालित झापा गोल्डकपको व्यवस्थापकीय पक्ष उत्कृष्ट रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
छैटौं संस्करणको झापा गोल्डकप शनिवारबाट सञ्चालन भइरहेको छ । गोल्डकप हेर्न रंगशाला पुगेका अधिकांश दर्शकहरुले व्यवस्थापकीय पक्ष यसअघिका संस्करणभन्दा राम्रो रहेको बताएका छन् । बिर्तामोड–३ बाट फुटवल हेर्न आएका देवराज परियार भन्छन् – यसपटक व्यवस्थापन राम्रो देखियो । अघिल्ला वर्षभन्दा यो वर्ष केही नयाँपन दिन खोजेको मलाई महशुस भएको छ ।
उनीजस्तै गोल्डकप हेर्न आएका अर्जुनधारा– ६ निवासी भीम बाँस्कोटाले यसपटक प्यारापिट लाई व्यवस्थित गर्नुका साथै अग्रभागमा कुर्र्सी समेत राखेर व्यवस्थापन गरेकाले व्यवस्थापकीय पक्ष राम्रो देखिएको छ । खेल मैदान पनि अघिल्लो वर्ष भन्दा राम्रो बनाइएको पाइयो । ‘विगतका वर्षहरुमा बाँसका प्यारापिटमाथि बसेर हेर्नुपर्ने स्थिति थियो, यसपटक भने प्यारापिट माथि म्याट ओच्छ्याइएकाले दर्शकले सहज रुपमा खेल हेर्न पाएका छन्’– बाँस्कोटाले भने ।
खेल अवधिभर सहज रुपमा बसेर फुटवल हेर्न पाएपछि अधिकांश सहभागी खुशी देखिएका छन् । २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हेर्न दर्शकको सहभागिता बढ्दै गएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको भनाइ छ । उनी भन्छन्– फुटवल हेर्न आएका दर्शकको सल्लाह र सुझावलाई मनन गरेर सुधार गर्नु पर्ने पक्षलाई सुधार्दै लैजान्छौं । उनले जारी झापा गोल्डकप हेर्न छिमेकी जिल्लाहरुबाट समेत दर्शकहरु आउन थालेको बताए ।
प्यारपिटसँगै यसपटक शौचालयलाई थप व्यवस्थित बनाइएको गोल्डकपका अध्यक्ष बस्नेतले बताए । उनले दर्शकको चापलाई मध्यनजर गर्दै मैदानका दक्षिण, पूर्व र पश्चिममा शौचालय बनाइएको जानकारी दिए ।
खेल अवधिभर कुनै पनि अप्रिय घटना नहोस् र दर्शकले ढुक्कले खेल अवधिभर बसेर खेल हेर्न पाउन् भनेर सुरक्षा व्यवस्था समेत मिलाएको बताइएको छ । झापा गोल्डकपका अध्यक्ष बस्नेत भन्छन्– रंगशालालाई सबै क्षेत्रबाट निगरानी गर्ने हिसाबले सीसी क्यामेरा समेत जडान गरेकाछौं । हरेक दर्शकको गतिविधिलाई सीसी क्यामेराले निगरानी गर्ने भएकाले ढुक्कले फुटबल अवधिभर खेल हेर्न सकिने व्यवस्था हामीले मिलाएका छौं ।

दर्शकसंगै फुटवल हेर्छन् अध्यक्ष बस्नेत

आइतवर ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लब बीच खेल भयो । खेल चलिरहँदा अध्यक्ष बस्नेत भने दर्शक दीर्घामा बदाम बाँड्दै पुगेर दर्शक सरह नै फुटबल हेरेको दृश्य हेर्न लायक थियो ।
अधिकांश आयोजक समितिका अध्यक्षहरु स्टेज छाड्दैनन् । तर, झापा गोल्डकपका अध्यक्ष बस्नेत भने दर्शकलाई बदाम र पानी बाँड्न पुग्छन् । उनी दर्शकसँगै बसेर तस्वीर समेत खिचाउन भ्याउँछन् । उनको यो कार्यको दर्शकले प्रशंसा गरेका छन् । खेल शुरु भएसँगै उनी अधिकांश समय दर्शकसँगै रमाएर बस्ने गरेकाले पनि उनी स्थानीयको रोजाइमा पर्दै आएका छन् । खेल शुरु हुनु अगावै जब बस्नेत मैदान प्रवेश गर्छन् त्यो समयदेखि नै उनीसँग तस्वीर खिचाउनेहरु लालयित भएको देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here