एमाले र कांग्रेसलाई सिके राउतको सुझाव : मिलेर सरकार बनाउनुस्, देशलाई स्थिरता दिनुस्

0
5

काठमाडौं, 

जनमत पार्टीका अध्यक्ष सिके राउतले मिलेर देश चलाउन एमाले र कांग्रेसलाई सुझाव दिएका छन्। राउतले ससाना दल मिलाएर सकी-नसकी बहुमत पुर्‍याउने र सरकार ढल्ने  त्रासमा रहने गर्नुभन्दा ठूला दुई मिलेर सरकार बनाउनुपर्ने बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले कांग्रेस र एमाले मिलेर सरकार बनाए तुलनात्मकरूपमा स्थायित्व कायम हुने तर्क गरेका छन्। ‘देशका दुई ठूला दलहरूले नै बरू मिलेर चलाऊन्- तुलनात्मक स्थायित्त्व रहन्छ। हामीहरू प्रतिपक्षमा बसेर आफ्नो भूमिका निर्वाह गरौँला’, उनले लेखेका छन्, ‘ससाना दलहरू मिलाएर सकी-नसकी बहुमत पुर्‍याउनु अनि दिनरात सरकार कतिखेर ढल्ने हुन्, त्रासमा रहनु उचित होइन।’

राउतले जनआक्रोश र वितृष्णा रोक्न तथा देशको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन्। सरकार बनाउने र भत्काउने खेलले प्रदेशमा समेत असर परेको भन्दै उनले यसले जनतामा राम्रो सन्देश नगएको बताएका छन्।

‘एक वर्षदेखि गठबन्धनमा निरन्तर सरकार बनाउने र भत्काउने नै काम हुँदै आएको छ। अरू केही कामको चर्चा समेत हुँदैन’, उनले भनेका छन्, ‘छिनछिनमा गठबन्धन फेरिँदा सबै प्रदेश सरकार पनि गर्ल्याम्मगुर्लुम्म ढल्छन्। यस्तो अवस्थामा न त जनतामा राम्रो सन्देश गएको छ, न त देशकै अर्थतन्त्र सुधार्न केन्द्रित हुन सकिएको छ।’थाहाखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here