इलाममा धार्मिक महोत्सवको तयारी

0
9

मङ्गलबारे (इलाम),

 

चैत १ गतेदेखि हुन लागेको इलाम धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यज्ञशाला निर्माणको काम सहितका तयारी अन्तिम चरणमा पुगेको हो ।

धार्मिक पर्यटनमा जोड दिँदै जिल्लालाई बहुधार्मिकस्थलका रुपमा विकास गर्नका लागि आयोजना हुँदै आएको १८ पुराणको समापन तथा इलाम धार्मिक महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा जोड दिने अपेक्षा लिइएको छ । बहुधर्मको विकासका लागि धार्मिक महोत्सव गर्न लागिएको आयोजक १८ पुराण मूल आयोजक समितिका संयोजक सन्दीपकुमार बुढाथोकीले बताउनुभयो ।

वैदिक सनातन धर्मको साझा स्थलका रुपमा इलामलाई विकास गर्नका लागि जिल्लाका विभिन्न शक्ति पीठमा १७ पुराण सम्पन्न भइसकेपछि १८ पुराणको तयारी गरिएको हो । धार्मिक सहिष्णुता, मानव एकता एवं विश्व शान्तिको सन्देशसहित धार्मिक महोत्सव गर्न लागिएको हो ।

विशिष्ट धर्मगुरु भावगत मञ्जरी राधिका दासी, वौद्य धर्मगुरु खेन रेम्पोछे फुर्तेम्बा शेर्पा, किरात धर्मगुरु महिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन, जगदगुरु श्रवालसन्त मोहन शरणदेवचार्य महाराजश्रीको महोत्सवमा उपस्थिति रहने छ । हाल महोत्सव समापन तथा १८ पुराण समापनका लागि एक हजार ९३ जनाको मूल आयोजक समिति गठन गरिएको आयोजक समितिका सचिव रविन रायले जानकारी दिनुभयो ।

अठार पुराणका लागि १८ वटै मण्डप निर्माण गरिएका छन् । साथै विभिन्न धर्मगुरुलाई समेत छुट्टै र व्यवस्थित धार्मिक प्रवचनका लागि ठाउँ निर्माण गरिएको छ । अठार पुराण समापन र इलाम धार्मिक महोत्सवबाट बचेको रकमले बहुधार्मिक सङ्ग्रहालय निर्माण गरिने आयोजक समितिका कोषाध्यक्ष गणेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार जिल्लालाई बहुधार्मिकस्थलका रुपमा विकास गर्न समेत सो सङ्ग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । चैत १ गते सुरु भएर आगामी चैत ९ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सव सफल बनाउन जिल्लावासी नै लागेको आयोजकको भनाइ छ ।

इलाम नगरपालिका–६ र ८ मा रहेको सिंह सिद्धदेवी तथा देवी पञ्चालन मन्दिर सिङफिरिङमा हुने १८ पुराण समापन तथा इलाम धार्मिक सहोत्सव सञ्चालन गरिने छ । चैत १ गते कलशयात्रासहित जगद्गुरुबाट समुद्घाटन हुने छ । चैत २ गतेदेखि दैनिक पाठपारायणसहित कथावाचन, झाँकी प्रदर्शन र भजनकीर्तन गरिने छ । चैत ८ गते १८ लाख एक हजार आठ सय १८ दीप प्रज्वलन गरिने छ । चैत ९ गते विभिन्न कार्यक्रमसहित समापन गरिने छ । आयोजकले सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थितिका लागि आमन्त्रणसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here