कोटीहवनमा कडरिया बन्धु भवन उद्घाटन

0
4

सुरुङ्गा ।

कनकाई–४ स्थित कनकाईधाम धार्मिक विकास संस्था कोटीहवन परिसरमा निर्मित कडरिया बन्धु समाज भवनको एक कार्यक्रमवीच उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कडरिया बन्धु वंशावली सङ्कलन तथा लेखन समितिका संयोजक मेदिनीप्रसाद कडरिया र विशिष्ट अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।

सो भवन १ करोड ३० लाख रुप्रयाँभन्दा बढीको लागतमा निर्माण भएको कार्यक्रमका विशेष अतिथि कडरिया बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । सो भवन निर्माणका लागि केन्द्रीय अध्यक्ष प्रभाखर कडरिया, स्व. गङ्गाप्रसाद कडरिया, जग्गादाता लगनबहादुर कडरिया, चन्दादाता हरिप्रसाद कडरियालगायतको सम्पूर्ण बन्धुबान्धव तथा चेलीबेटीको साथसहयोग रहेको कडरिया बन्धु सेवा समाज झापा–मोरङ समितिका अध्यक्ष तथा उक्त समारोहका अध्यक्ष वीरेन्द्र कडरियाले बताए ।

उद्घाटनपछि मेयर पोखरेलले कडरिया बन्धुको एकता, समाजसेवा र सबै जातजातिका मानिसलाई सँगै लिएर अघि जाने सोचको प्रशंसा गरेका थिए । पोखरेलले कडरिया बन्धु सेवा समाजले बन्धुका लागि मात्र होइन सबैका लागि समाज सेवा गरिरहेको भन्दै यस प्रकारको कार्यको निरन्तरताका लागि शुभकामना दिएका थिए । ‘श्रम–सीप–समुन्नति’ मूल नाराका साथ स्थापित कडरिया बन्धु सेवा समाजले बन्धुबान्धवका हितमा विविध कार्यक्रम गर्दै आएको छ ।

सो अवसरमा कडरिया बन्धु सेवा समाज झापा–मोरङ समितिको आयोजनामा सम्पन्न हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको विशिष्ट अतिथि मेयर पोखरेलले पानसमा दीप प्रज्वलन गर्दै ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा कनकाई नगर क्षेत्रका १ दर्जन बढी भजनकीर्तन मण्डलीको सहभागिता रहेको थियो ।

पितृउद्धार, भवनमा थप सुविधा थप्न र अत्रि गोत्रीय कडरिया बन्धुको एकतालाई अभिवृद्धि गर्दै कनकाईधाम क्षेत्रमा रहेका समस्त अन्य बन्धुबान्धवसँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको र सो महायज्ञमा व्यासाचार्य ताराप्रसाद कुइँकेलको प्रमुख वाचकत्व रहेको सहसचिव कैलाश कडरियाले जानकारी दिए । सो महायज्ञमा कडरिया बन्धु सेवा समाज झापा–मोरङको मात्र सहभागिता नरहेर समस्त मुलुक र मुलुकबाहिर रहेका कडरिया बन्धुको सहभागिता र योगदान रहने केन्द्रीय सचिव भूपेन्द्र कडरियाले बताए ।

सिद्धिङ्वा गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर कडरिया, भेटवाल बन्धु समाजका प्रतिनिधि सीपी भेटवाल, जानकी आधारभूत विद्यालय कनकाई–२ का प्रधानाध्यापक इन्दिरा प्रसाईं, सिद्धिङ्वा गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी कडरिया, समाजसेवी व्यक्तित्व सीपी कडरिया लगायतको आतिथ्य रहेको महायज्ञ तथा बन्धु भवन उद्घाटन कार्यक्रममा श्रीमद्भागवत सप्ताह महापुराणका मूलसमितिका संयोजक पूर्व अध्यक्ष गणेशप्रसाद कडरियाले पुराणको तयारीका साथै उद्देश्यमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कडरिया बन्धु सेवा समाजका केन्द्रीय परिषद् सदस्य कमलप्रसाद कडरियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here