भारतले हटायो नेपाली प्लाइउड निकासीको अवरोध

0
5

काठमाण्डौं ।

भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले शुक्रबार राजपत्र प्रकाशित गर्दै आगामी एक वर्षसम्म नेपालबाट निर्यात हुने प्लाइउडका सामाग्रीमा बीआइएस (ब्यूरो अफ इन्डियन स्टान्डर्ड) आदेश जारी नहुने उल्लेख गरेपछि नेपाली प्लाइउड निकासीको अवरोध अन्त्य भएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए ।

भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयको राजपत्र अनुसार ठुला उद्योगका नाममा सन् २०२५ फरवरी २८ देखि मात्र गुणस्तर चिन्ह सम्बन्धी आदेश लागू हुने छ । साना तथा मझौला उद्योगका हकमा २०२५ को मई २८ र लघु उद्योगका नाममा २०२५ को अगस्त २८ देखि यस्तो आदेश लागू हुने छ ।

नेपालवाट भारततर्फ प्लाइउड, प्लाइ बोर्ड र प्लाइका ढोका निकासी हुँदै आएको छ । कुटनीतिक पहलपछि अब यी तीनवटै वस्तुको निकासीमा अवरोध छैन । घिमिरेले भने, ’६० प्रतिशत प्लाइउड, २०–२० प्रतिशत बोर्ड र ढोका निकासी हुँदै आएको छ ।’ उनका अनुसार केन्द्रीय सरकारले जारी गरेको राजपत्र भारतीय भन्सारमा आइपुगेपछि अवरुद्ध निकासीले सुचारु पाउने छ ।

नेपाल र भारतबीच सन् २००१ मा भएको व्यापारिक सन्धि बमोजिम नेपालबाट भारततर्फ निर्यात हुने प्लाइउडलाई भारतीय पक्षले रोक्न मिल्दैन । सन्धिमा नेपालका लघु, साना तथा मझौला उद्योगलाई भारतले पनि लघु, साना तथा मझौला उद्योगका रूपमा मान्यता दिने उल्लेख छ । ’भारतीय भन्सारका कर्मचारीले सन्धिको मर्मलाई नबुझ्दा पश्चिमी नाकाबाट प्लाइउड निकासी तीन साता अवरुद्ध भएको थियो,’ उनले भने । पूर्वी नाकामा भने यो समस्या छैन ।

करिव ७० प्रतिशत स्वदेश कच्चा पदार्थमा आधारित नेपालमा ७५ वटा प्लाइ उद्योग सञ्चालनमा छन् । तीमध्ये कोशी प्रदेशमा ३४ वटा छन् । यी उद्योगले चालुवर्षको माघसम्ममा साढे ४ अर्ब मूल्य बराबरको प्लाइउड निकासी गरेको भन्सार विभागको तथ्याङ्क छ । गतवर्ष यही अवधिमा २ अर्ब १६ करोडको प्लाइउड निकासी भएको थियो ।

गत आर्थिक वर्ष ४ अर्ब ७० करोड ५२ लाख मूल्य बराबरको प्लाइउड निकासी भएको थियो । घिमिरेले भने, ’भारतले अवरोध नगरे यसवर्ष ८ अर्ब मूल्य बराबरको प्लाइउड निकासी गर्ने लक्ष्य छ ।’

काठको पत्ता (भेनियर) बाट तयार पारिने प्लाइउड खासगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउन प्रयोग गरिन्छ । यो नरम प्रजातिका र छिटो वृद्धि हुने कुकाठ, उत्तिस, कदम, आँप लगायतका प्रजाातिका रुखवाट उत्पादन गरिन्छ । यहाँ उत्पादित प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेश लगायतका जिल्लामा धेरै खपत हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here