१० लाख ७२ हजार रुपैयाँ छात्रवृत्ति वितरण

0
8

सुरुङ्गा ।

कनकाई नगरपालिका–३, सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २ सय ६८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

स्थानीय सरकार कनकाई नगरपालिकाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई दिइएको जनही ४ हजारका दरले १० लाख ७२ हजार रुपैयाँ वितरण गरिएको हो । विद्यालयमा कक्षा ११ र १२ मा हाल ८ सय ४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् छात्रवृत्ति छनौट समितिका संयोजक चन्द्रप्रसाद प्रसाईंको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवम् छात्रवृत्ति छनौट समितिका सदस्य कर्णबहादुर डाँगीले छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्ने कार्यविधि सम्बन्धमा प्रकाश पार्दै कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए ।

कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथिहरू वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदी र वार्ड नं. २ का वार्ड अध्यक्ष बलराम राई (प्रताप) लगायतले मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि चम्लागाईं, विशेष अतिथिहरू राई र सुवेदी, कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड सदस्यहरू मोहनप्रसाद सङ्ग्रौला र मन्दिरा वि.क., विद्यालय व्यवस्थापन समिति सदस्यहरू क्रान्ति सुवेदी, टीका अधिकारी, गोविन्दप्रसाद पौडेल, दिलिप घतानी, शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडा, छात्रवृत्ति छनौट समितिका सदस्य एवम् विद्यालयका लेखापाल चेतन रिजाल लगायतले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य मेनुका शिवाकोटी, सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी, डिसिप्लिन इञ्चार्ज गणेश सङ्ग्रौला लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here