आज महजोहीको सम्मान

0
6

झापाको बिर्तामोडमा आज नेपालका ख्याति प्राप्त हास्य कलाकार महजोडीको सम्मान हुँदैछ । हास्यव्यङ्ग्य विधाका शिखर पुरुष मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संयुक्त अभिनय यात्राको अनुपम बन्धन ‘महजोडी’का रुपमा स्थापित भइसकेको छ । पाँच दशक लामो महजोडीको सङ्गति एकअर्काको अनुपस्थितिमा अपूर्ण हुने हाम्रो मानसिकता बनिसकेको छ । तिनै कलाकारहरु जसको अभिनय, गायन, लेखन, समाजसेवाका साथै नेपाली समाजको रुपान्तरण र चेतनाको विकास लगायतका क्षेत्रमा अद्वितीय योगदान रहेको छ ।

कला, साहित्य, संस्कृति, भाषा र सभ्यता कुनै पनि जाति, समुदाय र देशको समृद्धिको आधार तथा मानक हो । त्यही मानकलाई बलियो र समृद्ध बनाउँदै प्रजातन्त्रको स्थापना, सदृढीकरणको आधार तयार गर्न महजोडीको त्यत्तिकै ठूलो भूमिका छ । तिनै कलाकारहरु र तिनको कलाकारिता, सेवा समर्पणको उदात्त भावना अनि योगदानको कदर गर्दै बिर्तामोडस्थित ग्रीन फिल्ड वल्र्ड स्कूलको अडिटोरियममा आयोजना गरिने भव्य समारोहमा पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान–२०८० समर्पण गरिँदैछ । कलाकारहरुको उपस्थिति नै यस क्षेत्रका बासिन्दा, समाजका अगुवा तथा नागरिक समाजका साथै सम्पूर्ण युवा र देशका भविष्यहरुका लागि उत्प्रेरणाको स्रोत बनिन सक्छ ।

जय नेपाल प्रतिभा प्रतिष्ठानको संयोजन तथा पूर्ण–टुङ्ग स्मृति अक्षय कोषको सहयोगमा पहिलो पटक राष्ट्रिय व्यक्तित्वहरुलाई संयुक्त रुपमा यो सम्मान वितरण गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिएका छन् । स्वर्गीय टुङ्गबहादुर बस्नेतले आफ्नो जीवन कालमै लोककल्याणका निमित स्थापना गरेको कोषबाट प्रत्येक वर्ष प्रदान गर्ने गरी देशभरबाट उत्कृष्टसेवा प्रदान गर्ने एक जनालाई सो सम्मान वितरण गरिने बताइएको छ । ०५५ सालमा स्थापित जय नेपाल प्रतिष्ठानको संयोजन तथा दाताहरुको सहयोगमा तत्कालीन मेची अञ्चलका विविध क्षेत्रका उदाहरणीय व्यक्तित्व एवम् प्रतिभाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । भारतीय नेपाल जगतका चर्चित व्यक्तित्व, नाट्यकर्मी तथा साहित्यसेवी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा हुने सम्मान समर्पण समारोहको भव्य र सफल सम्पन्नताको शुभकामना व्यक्त गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here