बिर्तामोड ।
झापामा देशकै लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुधवार सम्मान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बिर्तामोडमा महजोडीका रुपमा परिचित कलाकार श्रेष्ठ र आचार्यलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो । प्रतिष्ठानले पहिलोपटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले जानकारी दिए ।
महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको थियो । भारतको दार्जीलिङका प्रख्यात नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
पुरस्कृत प्रतिभा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे । उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको भन्दै हर्ष व्यक्त गरे । मदनकृष्ण श्रेष्ठसँगको ४४ बर्षको सहयात्राले आफूलाई यो स्थानमा पु¥याएको भन्दै उनले मित्रताको दीर्घकालीन नमूना हुन पाएकोमा गौरव महशुस गरेको बताए ।
अर्का सम्मानित व्यक्तित्व मदनकृष्ण श्रेष्ठले हरिबंश आचार्य उनले अहिलेसम्म पाएको मध्ये सबैभन्दा ठूलो पुरस्कार रहेको भन्दै ईश्वरले हरिवंशलाई आफ्नै लागि पठाएको बताए । उनले आदर्श नागरिकका रुपमा आफूलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सीमाले छेक्न नसक्ने बताए । उनले ३२ बर्षअघि सिक्किममा महजोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै यो पटक त्यही अवसर दोहोरिएको बताए । श्रेष्ठले महजोडी कलाकार वा ब्यक्तिमात्र नभएर प्रतिष्ठान रहेको टिप्पणी गरे ।
नेपाल कमजोर भयो भने अरु देशमा रहेका नेपाली भाषीले पनि दुःख पाउने प्रमुख अतिथि श्रेष्ठको भनाइ थियो । श्रेष्ठले भने – ‘नेपाल जरा हो, हामी त फल र फूल मात्र हौं, ‘जरा नै दुषित भयो भने फलफूलको अवस्था ठीक हुँदैन, त्यसकारण जरा सँधै स्वस्थ हुनुपर्छ ।’ नेपालले प्रगति गर्दा अरु देशमा रहेका नेपाली भाषीले गौरव गर्ने गरेको उनको भनाइ थियो ।
ग्रिनफिल्ड वल्र्ड स्कूल र बाल्मीकि एजुकेशन फाउण्डेशनका विद्यार्थीहरुले स्वागत नृत्यसहित सम्मानित मह जोडीकै स्वरका गीतमा नृत्य प्रस्तुत गरेका थिए । सम्मानित व्यक्तित्वहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिका तर्फबाटसमेत सम्मान गरिएको थियो ।
जय नेपाल प्रतिष्ठानले वि.सं. २०५२ सालदेखि इलाम, झापा, पाँचथर, ताप्लेजुङस्तरीय सम्मान तथा पुरस्कार वितरण गर्दै आएको छ । विभिन्न व्यक्ति तथा दातृ संस्थाहरुको सहयोगबाट स्थापित पुरस्कारहरु वितरण गर्दै आएको प्रतिष्ठानले कोभिड –१९ लगायतका प्राविधिक कारणले केही वर्ष कार्यक्रम गर्न सकेको थिएन ।
यसअघि इलामको नेपालटारमा जिल्लास्तरीय सम्मान तथा पुरस्कार वितरण गरिसकेको प्रतिष्ठानले आगामी दिनमा झापाका सम्मान तथा पुरस्कार वितरणको व्यवस्थापन गर्ने बताइएको छ । झापामा समाजसेवा, कृषक, शिक्षक, अग्रणी महिलाहरुलाई सम्मान गर्दै आएको छ । त्यस्तै एसर्ईई परीक्षाका उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ ।
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको अक्षयकोषको सहयोगमा बुधवार आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो । समारोहमा पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानका सदस्यहरु श्याम बस्नेत, जीतेन्द्र बस्नेत, शान्ता शिवाकोटी, पवित्रा खड्का, अमृता थापा, सरिता खत्री र रमा बस्नेतले समेत मह जोडीलाई सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।






























