१९६ जना महिलाले लिए उपचार सेवा

0
5

घुर्बिसे।

फाल्गुनन्द गाउँपालिकामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिका र स्वास्थ्य कार्यालय पाँचथरको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो । शिविरमा एक सय ९६ जना महिलाले स्वाथ्य परीक्षण गराउनुका साथै उपचार तथा परामर्श लिएका थिए ।

टाढा गएर आफ्नो समस्याको उचार गर्न नपाएका ग्रामीण क्षेत्रका महिलाहरुलाई घरपायक सेवा दिने उद्देश्यले पालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

दुर्गम भेगका अधिकांश महिलाहरुले सामाजिक कारणले आफ्नो समस्या खुलेर व्यक्त गर्न नसक्दा रोग लुक्ने र भविष्यमा जटिल बन्ने भएकाले महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविरको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्वाङले बताए ।

शिविरमा प्रजनन स्वास्थ्य समस्या, पाठेघरको मुखको क्यान्सर स्कृनिङ (भिआईए टेष्ट),आङ खस्ने समस्या, परिवार नियोजन, सेतोपानी बग्ने, स्तन क्यान्सर, दिसा–पिसाव चुहिने सम्बन्धी रोगको परीक्षण गरिनुका साथै औषधी वितरण समेत गरिएको पालिका स्वास्थ्य सह–संयोजक लक्ष्मीदेवी श्रेष्ठले जानकारी दिइन् । बेलैमा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा समस्या न्युनीकरण हुने भएकाले आगामी दिनमा पनि आवश्यकता अनुसार शिविर सञ्चालन गरिने पालिका स्वास्थ्य शाखा प्रमुख बेचन मण्डलले बताए ।

स्वास्थ्य चौकी फाक्तेपमा सम्पन्न भएको स्वास्थ्य शिविरमा छिमेकी जिल्ला इलामको फाकफोकथुम र फाल्गुनन्द ४ र ५ नम्बर वडा साथै घुर्बिसे पञ्चमी बजारबसीले लिएको सेवामा १८ वर्षदेखि ७० माथिका वृद्धहरु पनि सहभागीता थिए ।

प्राविधिक टिममा जिल्ला अस्पताल पाँचथरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धि बहादुर थापा, स्थानीय क्षेत्रका डा.उपेन्द्र पोख्रेल, आयोजक स्वास्थ्य कार्यालय पाँचथरका फोकल पर्सन राजेश मिश्र, पालिकाका स्वास्थ्यकर्मी, कर्मचारीसहितको टोलीले दिएको सेवामा पालिकाले अपेक्षा गरेभन्दा पनि बढी सेवाग्राहीले सेवा लिएको पालिका स्वास्थ्य सह–संयोजक बालकृष्ण दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here